साँखु,काठमाण्डौं। प्रधानमन्त्री बालेन शाह ले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभाव हटाउने विषयमा आफ्नो आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक गरेका छन्। उनले वर्षौंदेखि विद्यार्थी र कर्मचारी संरचनामा भएको पार्टीकरणले प्रणाली नै कमजोर बनाएको उल्लेख गरेका छन्।
स्टाटसमा प्रधानमन्त्री शाहले धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी तथा आम नागरिकले लामो समयदेखि एउटै आवाज उठाउँदै आएको—“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो”—भन्ने यथार्थलाई स्मरण गराएका छन्। उनका अनुसार विद्यार्थी र कर्मचारी संगठनहरू आफ्नो हितभन्दा बढी राजनीतिक दलका “स्लिपर सेल”का रूपमा प्रयोग हुँदै आएका छन्, जसका कारण योग्यता र क्षमताभन्दा पहुँच र झण्डाको मूल्य बढेको छ।
उनले शिक्षालयमा दलगत झण्डा निषेध र कर्मचारीतन्त्रमा दलगत झोला निषेध गर्ने निर्णय स्पष्ट रूपमा आवश्यक रहेको उल्लेख गरेका छन्। “यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ,” उनले लेखेका छन्।
प्रधानमन्त्री शाहले अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता हुनुपर्नेमा जोड दिएका छन्। उनले विद्यार्थीले राजनीति सिक्दा सभ्य, जिम्मेवार र विचारप्रधान ढंगबाट सिक्नुपर्ने तथा कर्मचारीले दलको होइन, जनताको सेवा गर्नुपर्ने धारणा राखेका छन्।
उनको भनाइमा यो कुनै पार्टीविरुद्धको अभियान नभई प्रणाली सुधार र भविष्य संरक्षणको प्रयास हो। देशलाई दलगत प्रभावबाट मुक्त गरी संस्थागत मार्गमा लैजाने लक्ष्यसहित अध्यादेशमार्फत यी कदम चालिएको उनले जनाएका छन्।
स्टाटसको अन्त्यमा प्रधानमन्त्री शाहले आम नागरिकसँग साथ र विश्वासको अपेक्षा गर्दै “परिवर्तन भाषणले होइन, निर्णयले आउँछ” भन्ने सन्देश दिएका छन्।