शंखरापुरमा चट्टीटार सडक ढलान अन्तिम चरणमा, किसानलाई एक साताभित्र बाली भित्र्याउन आग्रह

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं।
काठमाण्डौं शंखरापुर नगरपालिकाको वडा नं ६ चट्टिटार सडक पूर्वाधार विकासले गति लिएको छ। बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालयको बजेट विनियोजनमा सञ्चालन भइरहेको चट्टीटार सडक निर्माण योजना अन्तिम चरणमा पुगेको छ। अब केही दिनमै सडक ढलान कार्य सुरु हुने तयारी गरिएको वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयद्वारा जारी सूचनाअनुसार सडक निर्माणसँग सम्बन्धित आवश्यक प्राविधिक तथा पूर्वतयारीका अधिकांश काम सम्पन्न भइसकेका छन्। अब ढलान कार्य सुरु भएपछि केही समयका लागि उक्त सडकमा सवारी आवागमन तथा सर्वसाधारणको ओहोरदोहोर पूर्ण रूपमा प्रभावित हुने जनाइएको छ।

यसैलाई ध्यानमा राख्दै वडा कार्यालयले सडक आसपासका किसानहरूलाई विशेष आग्रह गरेको छ। वैकल्पिक मार्गको अभावका कारण खेतबारीसम्म पुग्न कठिनाइ हुन सक्ने भएकाले स्थानीय किसानहरूले आफ्नो खेतमा रहेको बाली एक साताभित्र भित्र्याइसक्न अनुरोध गरिएको छ।

चट्टीटार सडक योजना बागमती प्रदेश सरकारको रु २० लाख बजेटमा सञ्चालन भइरहेको हो। योजना सम्पन्न भएपछि स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएको हिलो, धुलो तथा आवतजावतको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

विशेषगरी कृषिजन्य उत्पादन ढुवानी, विद्यालय जाने विद्यार्थी, दैनिक यात्रु तथा आपतकालीन सेवामा समेत सहजता पुग्ने विश्वास लिइएको छ।
वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा विकास निर्माण कार्यलाई समयमै सम्पन्न गर्न स्थानीयको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ। साथै किसानहरूको मेहनतबाट उत्पादन भएको बाली सुरक्षित राख्न समयमै व्यवस्थापन गर्न अनुरोध गरिएको छ।

स्थानीयवासी रामेश्वर श्रेष्ठका अनुसार सडक ढलान सम्पन्न भएपछि शंखरापुर क्षेत्रको समग्र यातायात पहुँचमा  सुधार आउनेका साथ कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहज वातावरण बन्नेमा ढुक्क भएक्क बताए।

प्रतिक्रिया