साँखु,काठमाण्डौं । काठमाडाैंको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन स्थानीयवासी, भक्तजन तथा सरोकारवालाले पुनः सशक्त माग गरेका छन्। धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यस क्षेत्रको संरक्षणमा राज्य पक्षबाट प्रभावकारी कदम नचालिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।
वर्षौंदेखि मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा तथा अन्य संरचनाले मन्दिर परिसर साँघुरिँदै गएको छ। जसका कारण दैनिक पूजाआजा, धार्मिक अनुष्ठान, मेला तथा विशेष पर्वका अवसरमा भक्तजनलाई ठूलो सास्ती हुने गरेको स्थानीयको भनाइ छ। विशेषगरी प्रत्येक वर्ष भाद्र कृष्ण औँसीमा लाग्ने विशाल मेला, पितृ पक्षका श्राद्ध कर्म तथा पौष कृष्ण औँसीका अवसरमा हजारौँ श्रद्धालु उपस्थित हुँदा स्थान अभावले व्यवस्थापनमा कठिनाइ उत्पन्न हुँदै आएको छ।
गोकर्णेश्वर नगरपालिका–४ मा पर्ने मन्दिर क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी १४ वटा घर निर्माण गरिएको वडाध्यक्ष जयराम महत ले जानकारी दिएका छन्। ती संरचनाका कारण मन्दिर परिसरको सौन्दर्य, खुला क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक स्थान क्रमशः संकुचित बन्दै गएको छ।
मन्दिरमाथि करिब ६५० रोपनी क्षेत्रफलमा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा हाल राष्ट्रिय सहिद तथा निजामती स्मारक निर्माण कार्य भइरहेको छ। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल का अनुसार मन्दिरसँगै जोडिएको सार्वजनिक जग्गामा बनेका १४ वटा घरलाई पछिल्लो समय सहयोगी माध्यमिक विद्यालय लाई भोगाधिकार दिइएको छ।
स्थानीयवासीका अनुसार गोकर्णेश्वर मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन विगतमा पटक–पटक पहल भए पनि कार्यान्वयन हुन सकेको छैन। काठमाडौं उपत्यका विकास प्राधिकरण सम्म प्रस्ताव पुगेको भए पनि त्यसको ठोस परिणाम ननिस्किएको गुनासो छ। प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारी ले मन्दिर क्षेत्रभित्रका संरचना हटाई सुन्दरीजल जाने सडकसमेत स्थानान्तरण गरी क्षेत्रलाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका थिए। तर आवश्यक समन्वय अभावका कारण योजना अघि बढ्न नसकेको गोकर्णेश्वर मन्दिर जीर्णोद्धार एवं छाना पुनःनिर्माण समिति का अध्यक्ष कोमलबहादुर विष्ट ले बताए।
स्थानीयका अनुसार मन्दिर क्षेत्रको जग्गा ओगटेर बसोबास गर्ने कतिपय व्यक्तिको अन्यत्र पनि घरजग्गा रहेको छ। सरकारले विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान चलाइरहेका बेला गोकर्णेश्वर जस्तो ऐतिहासिक सम्पदास्थलमा बनेका अवैध संरचनामाथि पनि समान रूपमा कारबाही हुनुपर्ने माग उठेको छ।
भक्तजनले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई खुला, व्यवस्थित र संरक्षणमुखी बनाइ धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्। उनीहरूले अतिक्रमित जग्गा तत्काल खाली गराई पार्क, धार्मिक सभा स्थल, तीर्थयात्री विश्राम क्षेत्र तथा सांस्कृतिक कार्यक्रमस्थल निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।
स्थानीय सरोकारवालाले अब ढिलाइ नगरी मन्दिर क्षेत्र संरक्षणका लागि स्पष्ट योजना, कानुनी कार्यवाही र दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताएका छन्।