शंखरापुर, काठमाण्डौं । शंखरापुर नगरपालिका वडा नं. ९ ले मनहरा नदी क्षेत्रको नापजाँच तथा साँध–सिमाना छुट्याउने कार्यमा सहयोग गर्न स्थानीय बासिन्दा, जग्गाधनी तथा सरोकारवालाहरूलाई उपस्थित हुन आग्रह गरेको छ। मनहरा नदी कटान नियन्त्रण तथा कोरिडोर निर्माणको कामलाई व्यवस्थित बनाउन नगरपालिकाले पुरानो नाप–नक्साको आधारमा प्राविधिक नापजाँच प्रक्रिया अघि बढाउन लागेको हो।
वडा कार्यालयद्वारा जारी सूचनाअनुसार आगामी २०८३ साल जेठ ६ गते बिहान १० बजे देखि मनहरा नदी क्षेत्रको नापजाँच तथा सीमा निर्धारण कार्य सुरु गरिनेछ। उक्त कार्य वि.सं. २०२१ सालको सरकारी नाप–नक्सालाई आधार मानेर सञ्चालन गरिने जनाइएको छ।
मनहरा नदी कटान नियन्त्रण तथा कोरिडोर निर्माण समितिको २०८३ जेठ २ गतेको पत्रका आधारमा वडा कार्यालयले सूचना जारी गरेको हो। वडा अध्यक्ष शहदेव श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित साँध–सिमानाका स्थानीय बासिन्दा, जग्गाधनी तथा सरोकारवालाहरूलाई तोकिएको समयमै उपस्थित भई नापजाँच कार्यलाई सहज र सफल बनाउन सहयोग गर्न आग्रह गरिएको छ।
सूचनामा भनिएको छ, “उक्त दिन तोकिएको समयमा सम्बन्धित सरोकारवाला तथा साँध–सिमानाका महानुभावहरू उपस्थित भई नापजाँच कार्यलाई सहज र सफलतापूर्वक सम्पन्न गराउन सहयोग गरिदिनुहुन जानकारी गराइन्छ।”
स्थानीय तहका अनुसार मनहरा नदी क्षेत्रमा वर्षौंदेखि नदी कटान, अतिक्रमण, सार्वजनिक जग्गा संरक्षण तथा कोरिडोर निर्माणसँग सम्बन्धित विभिन्न विवाद र चुनौती देखिँदै आएका छन्। त्यसैले पुरानो सरकारी अभिलेख र नक्साका आधारमा वास्तविक सीमा पहिचान गरी दीर्घकालीन समाधान खोज्न नापजाँच प्रक्रिया सुरु गरिएको जनाइएको छ।
नगरपालिकाले मनहरा नदी किनार क्षेत्रको संरक्षण, बाढी तथा कटान नियन्त्रण, सार्वजनिक संरचना निर्माण र व्यवस्थित कोरिडोर विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। यसका लागि स्थानीयको सहकार्य अपरिहार्य रहेको वडा कार्यालयको भनाइ छ।
स्थानीयवासीहरूले पनि नदी क्षेत्रको स्पष्ट सीमा निर्धारण भए भविष्यमा हुने जग्गा विवाद, अतिक्रमण तथा विकास निर्माणसम्बन्धी अन्योल कम हुने अपेक्षा व्यक्त गरेका छन्। नगरपालिकाले नापजाँचका क्रममा आवश्यक कागजात तथा पुराना प्रमाणहरू साथमा ल्याउन समेत सम्बन्धित पक्षलाई आग्रह गरेको छ।