शंखरापुर(साँखु), काठमाण्डौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएकाले निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको जनाएको छ। यसअघि बिहान १० बजेका लागि तय गरिएको मतदान पटक–पटक समय सार्दै दिउँसो साढे २ बजेसम्मका लागि तोकिए पनि मतदान सुरु हुन सकेन।
निर्वाचन कार्यतालिका प्रभावित भएपछि निर्वाचन समितिले मतदानका लागि नयाँ समय निर्धारण गरेको छ। निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार अब शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।
कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि प्रतिनिधिहरूको प्रदेश तथा प्रतिनिधित्वका आधारमा विभिन्न मतदान केन्द्रको व्यवस्था गरिएको छ।
यसअघि पनि वर्षा तथा प्राविधिक कारण देखाउँदै मतदानको समय पटक–पटक सारिएको थियो। बिहीबार निर्धारित समयमा मतदान हुन नसकेपछि शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ।