साँखु, काठमाण्डौं । कागेश्वरी मनोहरा नगर अस्पतालमा लामो समयदेखि महसुस गरिएको आवश्यकता पूरा गर्दै अस्पताल परिसरभित्र क्यान्टिन सेवा सञ्चालनमा आएको छ। अस्पतालसँग सम्झौता गरी भाडामा सञ्चालनमा ल्याइएको चमेनागृह (क्यान्टिन) सेवाको सोमबार एक औपचारिक कार्यक्रमबीच नगर प्रमुखद्वारा उद्घाटन गरिएको हो।
अस्पताल प्रशासनका अनुसार नयाँ क्यान्टिन सेवाले अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा, सेवाग्राही तथा कर्मचारीहरूलाई स्वच्छ र गुणस्तरीय खाना सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ। सात वर्षदेखि अस्पतालभित्र व्यवस्थित खानपान सेवाको आवश्यकता महसुस हुँदै आएको अवस्थामा अहिले आधुनिक सुविधासहितको क्यान्टिन सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।
सञ्चालनमा आएको क्यान्टिनमा उच्च प्रविधियुक्त किचनको व्यवस्था गरिएको छ भने सफा, स्वच्छ तथा गुणस्तरीय खाना र खाजाका विभिन्न परिकार सुलभ मूल्यमा उपलब्ध गराइने बताइएको छ। अस्पताल परिसरमै खाना तथा खाजा सेवा उपलब्ध भएपछि विशेषगरी बिरामी कुरुवा र टाढाबाट आउने सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको छ।
क्यान्टिन उद्घाटन कार्यक्रममा नगर प्रमुख, सम्बन्धित वडा अध्यक्ष, विभिन्न जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समितिका सदस्यहरू तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले अस्पतालको सेवा विस्तारसँगै नागरिकमैत्री सुविधा थपिनु सकारात्मक पक्ष भएको उल्लेख गरेका थिए।
अस्पताल प्रशासनले क्यान्टिन सञ्चालनसँगै स्वास्थ्य मापदण्डलाई विशेष प्राथमिकता दिइएको जनाएको छ। खाद्यान्नको सरसफाइ, गुणस्तर तथा स्वस्थकर भोजनमा विशेष ध्यान दिइने बताइएको छ।
आजैदेखि कर्मचारी तथा सेवाग्राहीहरूले सेवा लिन सुरु गरिसकेका छन्। अस्पतालले सम्पूर्ण कर्मचारी, सेवाग्राही तथा बिरामी कुरुवाहरूलाई सफा र स्वस्थ खानाका लागि क्यान्टिन सेवाको उपयोग गर्न आग्रह गरेको छ।
स्थानीयवासीहरूले समेत अस्पतालभित्र यस्तो सेवा सञ्चालन हुनु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार अस्पतालमा लामो समय बस्नुपर्ने बिरामी कुरुवाहरूले अब बाहिर धाउनुपर्ने बाध्यता कम हुने भएको छ।