राप्रपा काठमाडौंको अध्यक्षमा दीपक केसी विजयी

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला अध्यक्षमा दीपक केसी निर्वाचित भएका छन्। आइतबार सम्पन्न जिल्ला अधिवेशनमा भएको निर्वाचनमा केसीले ३९० मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।


अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी रिद्धिप्रताप राणाले २२० मत प्राप्त गर्दा अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत प्राप्त गरे। केसीले राणालाई १७० मतको अन्तरले पराजित गरेका हुन्।

नवनिर्वाचित अध्यक्ष केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका पूर्व संयोजकसमेत हुन्। राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका केसीले स्थानीय तहमा जनप्रतिनिधिका रूपमा समेत काम गरिसकेका छन्।

जिल्ला अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा केसीले काठमाडौंमा राप्रपाको संगठनलाई वडा तहसम्म विस्तार गरी सुदृढ, अनुशासित, चलायमान र जनमुखी बनाउने योजना अघि सारेका थिए। उनले पार्टीलाई निर्वाचनका बेला मात्र सक्रिय हुने नभई वर्षभरि जनताको सुख–दुःखमा जोडिने संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

केसीको योजनामा वडा तहबाटै जनताका समस्या पहिचान गर्ने, ती समस्या पार्टीको संगठनात्मक संरचनामार्फत सम्बन्धित निकायसम्म पुर्‍याउने तथा नेता–कार्यकर्तालाई सामाजिक गतिविधिमा निरन्तर परिचालन गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।

त्यसैगरी युवालाई नेतृत्वमा अवसर, महिलासहित विभिन्न समुदायको सहभागिता, कार्यकर्ताको क्षमता विकास तथा पार्टी संगठनमा अनुशासन कायम गर्ने विषयलाई उनले आफ्नो नेतृत्वको प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरेका थिए।

लावण्य सन्देशसँगको अन्तर्वार्तामा समेत केसीले जिल्ला नेतृत्व प्राप्त भएमा काठमाडौंमा राप्रपाको संगठनलाई वडा तहदेखि नै बलियो बनाउँदै जनतासँग प्रत्यक्ष जोडिएको राजनीतिक संगठनका रूपमा अघि बढाउने बताएका थिए। सोही क्रममा उनले संगठनलाई निरन्तर सक्रिय राख्दै जनताका समस्या र अपेक्षालाई पार्टीको प्राथमिकतासँग जोड्ने धारणा व्यक्त गरेका थिए।

काठमाडौं जिल्ला अध्यक्षमा निर्वाचित भएसँगै केसीले अब जिल्लाभर पार्टी संगठन विस्तार, कार्यकर्ताबीच समन्वय र स्थानीय तहमा राप्रपाको राजनीतिक उपस्थिति सुदृढ गर्ने जिम्मेवारी पाएका छन्।

लावण्य सन्देश परिवार नवनिर्वाचित अध्यक्ष दीपक केसीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।

प्रतिक्रिया