शंखरापुर, काठमाण्डौं। ५४औँ विश्व वातावरण दिवस २०८३ को अवसरमा शंखरापुर नगरपालिकाको आयोजनामा वातावरण संरक्षण, सरसफाइ तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम सम्पन्न भएका छन्। नगरपालिकाको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र साँखु तथा प्रहरी प्रभाग साँखु, नेपाल स्काउट शंखरापुर, पानी लगायत विभिन्न सामाजिक संस्थाका अभियन्ताहरुको सहकार्यमा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
समुदाय–प्रहरी साझेदारी ‘हाम्रो प्रहरी’ कार्यक्रम अन्तर्गत शंखरापुर नगरपालिका–८ स्थित श्री बज्रयोगिनी मन्दिर परिसरमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र साँखु, प्रहरी प्रभाग साँखु, नगरपालिकाका प्रतिनिधि, अभियन्ताहरु तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
सरसफाइ अभियानका क्रममा मन्दिर परिसर तथा आसपासका सार्वजनिक क्षेत्रहरूमा जम्मा भएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको बज्रयोगिनी क्षेत्रलाई स्वच्छ र आकर्षक राख्न सामूहिक प्रयास गरिएको सहभागीहरूले बताएका छन्।
विश्व वातावरण दिवसको अवसरमा सम्पन्न सरसफाइ अभियान तथा साँखु शहरलाई लक्षित विभिन्न विद्यालयहरुले जनचेतनामूलक र्यालीका कारण वातावरण संरक्षणप्रति स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। स्वच्छ, हरित र वातावरणमैत्री शंखरापुर निर्माणका लागि यस्ता कार्यक्रमले नागरिक सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।