रवि लामिछाने विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने

lawanyasandesh.com

साँखु,काठमाडौँ । कास्की जिल्ला अदालत ले रवि लामिछाने विरुद्ध दायर गरिएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नलिने आदेश जारी गरेको छ। सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता लिन दर्ता गराएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले हाललाई यथास्थितिमा मुद्दा अगाडि बढ्ने स्पष्ट पारेको हो।
न्यायाधीश नितिश राईको इजलासले मुद्दा फिर्तासम्बन्धी विषयमा अन्तिम निर्णय लिनुअघि सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंगो लाग्नुपर्ने उल्लेख गरेको छ। सर्वोच्चबाट जारी हुने आदेश जिल्ला अदालतमा प्राप्त भएपछि मात्र थप निर्णय प्रक्रिया अघि बढ्ने अदालतले जनाएको छ।
यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछाने विरुद्धको समान प्रकृतिको मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले भने यसअघि लामिछानेसहितका प्रतिवादी विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। सो निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतसमक्ष मुद्दा फिर्ताको निवेदन दर्ता गराएको थियो।
लामिछाने विरुद्ध कास्की, काठमाडौं, चितवन र रूपन्देही जिल्लामा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ता भई विचाराधीन अवस्थामा रहेका छन्।

प्रतिक्रिया