मनमत्ता खोला पुल ढलान अन्तिम चरणमा, शंखरापुरको पूर्वोत्तर सडक सञ्जाल विस्तारले विकासको नयाँ आशा

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं । शंखरापुर नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने मनमत्ता खोला पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुलको ढलान कार्यको अन्तिम तयारी पूरा भएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ । मंगला देवी सिंह मार्गअन्तर्गत बुद्धविहार चोकदेखि मनमत्ता खोला सम्म सडक चौंडा गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको छ भने यसले शंखरापुर क्षेत्रको यातायात पूर्वाधारलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।


स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सरोकारवालाहरूले निर्माणाधीन पुल तथा सडक विस्तारको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यको प्रगति र स्थानीय गुनासोबारे जानकारी लिएका छन्। निरीक्षणमा वडा नं. ९ का अध्यक्ष सहदेव श्रेष्ठ, समाजसेवी रघु के.सी.,कृष्ण जि खड्का, अशोक कुमार खड्का ओम बहादुर कार्कि लगायत सहभागी भएका थिए। निरीक्षण टोलीले सडक विस्तारका क्रममा देखिएका समस्याहरू समाधान गर्ने प्रयास भइरहेको जनाएको छ।

स्थानीयका अनुसार सडक चौंडा भएपछि यातायात आवागमन सहज हुने, दुर्घटनाको जोखिम कम हुने तथा व्यापारिक तथा पर्यटकीय गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। शंखरापुर क्षेत्र ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने भएकाले सडक पूर्वाधार सुधारलाई स्थानीय विकासको मुख्य आधारका रूपमा हेरिएको छ।

यस सडक तथा पुल निर्माणलाई केवल शंखरापुर नगरपालिकाको परियोजनाका रूपमा मात्र नभई काठमाण्डौं उपत्यकाको उत्तर–पूर्वी भेगलाई जोड्ने दीर्घकालीन क्षेत्रीय विकास योजनाको महत्वपूर्ण हिस्साका रूपमा समेत हेरिएको छ। काठमाण्डौं, भक्तपुर र काभ्रे जिल्लाका उत्तर–पूर्वी क्षेत्रमा सहज सार्वजनिक यातायातको पहुँच विस्तार गर्ने उद्देश्यसहित विभिन्न सडक संरचना निर्माण तथा स्तरोन्नति कार्य अगाडि बढिरहेको जनाइएको छ।

तारकेश्वरको तीनपिप्ले, टोखा, बुढानिलकण्ठ, कौडोल, गोकर्ण, सुन्दरीजल, सुर्यमण्डली, लाकिला, साँखु–नगरकोट हुँदै दोलालघाटसम्मको सडक सञ्जाल क्रमशः विस्तार र स्तरोन्नति हुँदै गएको छ। यी सडक परियोजनाले उपत्यकाको भीडभाड कम गर्नुका साथै वैकल्पिक यातायात मार्ग निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीयवासी तथा जनप्रतिनिधिहरूले पूर्व उपप्रधान तथा पूर्व सहरी विकास मन्त्री प्रकाशमान सिंह लगायत विभिन्न स्थानीय तहका प्रमुखहरूको सक्रिय पहल प्रशंसनीय रहेको बताएका छन्। तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंखरापुर, मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकाबीच समन्वय गरेर सडक पूर्वाधार विकासलाई अघि बढाइएको जनाइएको छ।

स्थानीय सरोकारवालाहरूले केही वर्षभित्र यस क्षेत्रको विकासमा उल्लेखनीय परिवर्तन देखिने विश्वास व्यक्त गरेका छन्। सडक सञ्जाल विस्तारसँगै पर्यटन, कृषि उत्पादनको बजारीकरण, स्थानीय व्यापार तथा जनजीवनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया