साँखु, काठमाण्डौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि अधिवक्ता गोविन्द पन्थीले गुल्मी निर्वाचन क्षेत्र नं. २ का मतदाताप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले मतदाताहरूले आफ्नो अमूल्य मतमार्फत देखाएको विश्वास, आशा र समर्थनले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको बताउनुभएको छ।
निर्वाचनपछि जारी गर्नुभएको आभार सन्देशमा पन्थीले सचेत, विवेकशील तथा जिम्मेवार मतदाताहरूले प्रदान गरेको भरोसालाई व्यवहारमै प्रमाणित गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “यहाँहरूले देखाउनुभएको विश्वास मेरो लागि ठूलो जिम्मेवारी हो। यसलाई परिणाममुखी काममार्फत प्रमाणित गर्नेछु,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।
उहाँले निर्वाचन अभियानका क्रममा परिवर्तनको सपना बोकेर दिनरात खटिएका सहयात्री साथीहरू, शुभेच्छुकहरू तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गुल्मी जिल्लाका सम्पूर्ण परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ। उनीहरूको मेहनत, लगन र समर्पण नै सफलताको प्रमुख आधार बनेको उहाँको भनाइ छ।
त्यसैगरी निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुरक्षाकर्मी, निर्वाचन अधिकृत तथा कर्मचारीहरूलाई पनि उहाँले धन्यवाद दिनुभएको छ। लोकतन्त्रको महत्वपूर्ण प्रक्रियालाई सफल बनाउन उनीहरूले पुर्याएको योगदान सर्हानिय र सम्मानयोग्य रहेको पन्थीले उल्लेख गर्नुभयो।
साथै लोकतान्त्रिक प्रतिस्पर्धालाई सभ्य र स्वस्थ बनाउन योगदान पुर्याउने अन्य राजनीतिक दल तथा उम्मेदवारहरूप्रति पनि उहाँले सम्मान व्यक्त गर्नुभएको छ।
अबको यात्रा “गुल्मी विकास मोडल” निर्माणतर्फ केन्द्रित हुने उल्लेख गर्दै पन्थीले सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्दै सहकार्य र समन्वयका माध्यमबाट गुल्मी–२ को समग्र विकास, सुशासन र देशको समृद्धिका लागि निरन्तर समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सन्देशको अन्त्यमा उहाँले “गुल्मी–२ को जय होस्, मेरो देशको जय होस्” भन्दै सबैप्रति सम्मान प्रकट गर्नुभएको छ।