शंखरापुर, काठमाडौं ।
भक्तपुरको मनोहरा खोला किनारमा अवस्थित सुकुम्बासी बस्तीमा रहेका अनधिकृत घरटहरा तथा संरचनामाथि आइतबार व्यापक डोजर अभियान सञ्चालन गरिएको छ। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा बिहान करिब १० बजेदेखि सुरु गरिएको उक्त अभियानमा सात वटा डोजर परिचालन गर्दै करिब ७० प्रतिशत संरचना भत्काइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार निरन्तर भइरहेको कार्य असिनापानीका कारण केहीबेर अवरुद्ध भएपछि आइतबारका लागि अभियान स्थगित गरिएको हो। बाँकी रहेका संरचनाहरू सोमबारसम्म पूर्ण रूपमा हटाइने उनले जानकारी दिए।
प्रहरीका अनुसार यसअघि नै बस्तीका अधिकांश बासिन्दाले आफ्नो सामान सारिसकेका थिए। हिजोसम्म करिब ८० प्रतिशतले घर खाली गरिसकेको र आज बाँकी बासिन्दाले पनि स्वेच्छाले सामान सारेर अभियानलाई सहज बनाएको बताइएको छ।
सुरक्षाका दृष्टिले आइतबारको अभियानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। भक्तपुरबाट खटिएका १ हजार ४०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी गरी करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक खड्काले बताए।
उक्त क्षेत्रबाट विस्थापित भएका वास्तविक सुकुम्बासीलाई अस्थायी रूपमा दशरथ रङ्गशालामा राखिएको छ। त्यहाँबाट उनीहरूलाई खानपान तथा बसोबासको व्यवस्था मिलाउन होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।
सरकार तथा स्थानीय तहको समन्वयमा अघि बढाइएको यो अभियानले नदी किनारका अतिक्रमण हटाउँदै दीर्घकालीन व्यवस्थापनतर्फ कदम चालिएको बताइएको छ। तर, प्रभावित बासिन्दाको पुनर्स्थापना, वैकल्पिक आवास तथा जीवनयापनको सुनिश्चितताबारे थप स्पष्ट योजना आवश्यक देखिएको स्थानीयले बताएका छन्।
यसैबीच, सोमबारसम्म सम्पूर्ण संरचना हटाउने लक्ष्यसहित सम्बन्धित निकायहरू तयारी अवस्थामा रहेको जनाइएको छ।