शंखरापुर,काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ तथा प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ मा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। सोमबार जोरपाटीमा आयोजित विशेष कार्यक्रममा नवनिर्वाचित नेतृत्व तथा पदाधिकारीहरूको औपचारिक घोषणा गरिएको हो।
पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्दै आपसी सहमति, एकता र सहकार्यको भावनासहित क्षेत्रीय तथा प्रदेश तहमा नेतृत्व चयन गरिएको जनाइएको छ। सर्वसम्मत नेतृत्व चयनले संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ३ का सभापति तथा प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेको विशेष उपस्थिति रहेको थियो। उहाँले पार्टी संगठनलाई समयानुकूल रूपमा सुदृढ गर्दै कार्यकर्ता तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। पार्टीभित्र एकता, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर आगामी दिनमा कांग्रेसलाई अझ मजबुत ढङ्गले अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको समेत गरिमामय उपस्थिति रहेको थियो। उहाँले पार्टीलाई थप व्यवस्थित, एकताबद्ध र जनमुखी बनाउँदै संगठन सुदृढीकरणका लागि सबै तहका नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो। पार्टीलाई बलियो बनाउन आपसी सहकार्य, जिम्मेवारीप्रतिको प्रतिबद्धता र जनतासँगको निरन्तर सम्पर्क आवश्यक रहेको उहाँको भनाइ थियो। दीपक रिसाल गोकर्णेश्वर नगरपालिकाका निर्वाचित नगरप्रमुख हुनुहुन्छ।
औपचारिक रूपमा घोषित पदाधिकारीमध्ये काठमाडौँ क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा भुवन लामा सर्वसम्मत चयन हुनुभएको छ। सचिवमा सुदीप पण्डित, सहसचिवमा मन्जु पुडासैनी र ज्ञानकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा लक्ष्मण चौलागाईं चयन हुनुभएको छ।
त्यस्तै प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा विवेक लामा सर्वसम्मत चयन हुनुभएको छ। उपसभापतिमा ईश्वर पुडासैनी, सचिवमा दुर्गा रानामगर, सहसचिवमा राजेश श्रेष्ठ र लक्ष्मी गुरुङ तथा कोषाध्यक्षमा धर्म लामा थिङ चयन हुनुभएको छ।
प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा सुरज खड्का सर्वसम्मत चयन हुनुभएको छ। उपसभापतिमा सुनिता कार्की, सचिवमा उमेश ढुङ्गाना तथा सहसचिवमा राजन तामाङ र कृष्णकुमार चौलागाईं चयन हुनुभएको जनाइएको छ।
घोषणा कार्यक्रममा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि, पदाधिकारी तथा ठूलो सङ्ख्यामा कांग्रेसका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। सहभागीहरूले नवनिर्वाचित नेतृत्वलाई खादा तथा माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।