कागेश्वरी मनोहरामा ‘आमा’ खण्डकाव्य लोकार्पण, साहित्य उत्थानमा सहयोग गर्ने मेयर कार्कीको प्रतिबद्धता

lawanyasandesh.com

साँखु,काठमाण्डौं।कागेश्वरी मनोहरा नगरपालिका–स्थित थलीमा शुक्रबार आयोजित एक भव्य साहित्यिक समारोहबीच कवि भरतमणि ढुंगानाको दोस्रो कृति “आमा” खण्डकाव्य लोकार्पण गरिएको छ। तरेली साहित्य प्रतिष्ठानको १३५औँ शृङ्खलाअन्तर्गत सम्पन्न उक्त कार्यक्रम साहित्य, कला र संस्कृतिप्रेमी व्यक्तित्वहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो।



२०८३ साल जेठ १५ गते शुक्रबार कान्तिपुर एकेडेमी थलीमा आयोजित समारोह तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ “शैलेन्द्र” को सभापतित्व तथा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्य तथा कवि भरतमणि ढुंगानाको बहुप्रतीक्षित दोस्रो कृति “आमा” खण्डकाव्यको औपचारिक लोकार्पण गरिएको हो।


कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कान्छा तिवारीले गर्नुभएको थियो भने राष्ट्रिय गानबाट कार्यक्रम प्रारम्भ भएको थियो। प्रतिष्ठानका उपाध्यक्ष बालचन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्दै तरेली साहित्य प्रतिष्ठानले निरन्तर रूपमा साहित्यिक चेतना, सृजनशीलता र नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण अभिवृद्धि गर्दै आएको उल्लेख गर्नुभयो। कार्यक्रममा सभापति, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई शोभा ढुंगाना र शान्ता ढुंगानाले माला तथा खादा लगाई स्वागत गर्नुभएको थियो।


समारोहमा प्राध्यापक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, पूर्व भूमि सुधार सचिव तथा साहित्यकार शम्भु कोइराला, कान्तिपुर क्याम्पसका क्याम्पस प्रमुख शैलेन्द्र कुइंकेल, वरिष्ठ साहित्यकार कलानिधि दाहाल, अभिनव साहित्य समाजका अध्यक्ष तथा साहित्यकार गोविन्द घिमिरे, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, सहप्राध्यापक तथा साहित्यकार चुडामणि काफ्ले, कान्तिपुर एकेडेमीका अध्यक्ष कविर शर्मा फुयाल, सहप्राध्यापक श्रीराम सापकोटा, उपप्राध्यापक तथा समालोचक ज्ञाननिष्ठ ज्ञवाली, कान्तिपुर एकेडेमीका प्राचार्य प्रध्युम्न पौडेल, अल्पाइन एकेडेमीका अध्यक्ष अनन्तराम ढकाल तथा हास्यव्यंग्य कलाकार एवं कवि विष्णु तिवारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उपेन्द्र कार्कीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। त्यसपछि साहित्यिक सिर्जना वाचनको क्रम चलेको थियो। कार्यक्रममा राजेशमान केसी, राजेन्द्र श्रेष्ठ, तेजनाथ दंगाल, अच्युत प्याकुरेल “निरस”, ईच्छाराम थापा, केशवप्रसाद घिमिरे, गोविन्द कुइंकेल तथा सागरमणि ढुंगानाले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो। हास्यव्यंग्य कलाकार विष्णु तिवारीले प्रस्तुत गरेको व्यंग्यात्मक प्रस्तुति दर्शकको विशेष आकर्षण बनेको थियो। प्रकाशित कृति “आमा” बाट कृष्णप्रसाद पौडेलले अंश वाचन गर्नुभएको थियो।


कवि भरतमणि ढुंगानाको कृति “आमा” लाई प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो। लोकार्पणपछि कृतिमाथि विभिन्न साहित्यकार तथा समालोचकहरूले आ–आफ्नो धारणा राखेका थिए। कविर शर्मा, कृष्णप्रसाद नेपाल, बाजुराम पौडेल, गोविन्द घिमिरे “वेदमणि”, कलानिधि दाहाल, पुरुषोत्तम दाहाल तथा प्रमुख अतिथि उपेन्द्र कार्कीले कृतिको भाव, भाषा, मातृत्वप्रतिको संवेदनशील प्रस्तुति र सामाजिक सन्देशको प्रशंसा गर्नुभएको थियो।


समालोचक ज्ञाननिष्ठ ज्ञवालीले कृतिको समालोचना गर्दै “आमा” खण्डकाव्यले नेपाली समाजमा आमाप्रतिको श्रद्धा, त्याग, ममता र पारिवारिक संस्कृतिको जीवन्त चित्र प्रस्तुत गरेको बताउनुभयो। उहाँले कृतिमा भावनात्मक गहिराइसँगै भाषिक परिपक्वता रहेको उल्लेख गर्नुभयो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपेन्द्र कार्कीले तरेली साहित्य प्रतिष्ठानले समाजमा साहित्यिक चेतना अभिवृद्धि गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय तहले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विशेष ध्यान दिइरहेको उल्लेख गर्दै तरेली साहित्य प्रतिष्ठानलाई साहित्य उत्थानका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँको उक्त घोषणाले कार्यक्रममा सहभागी साहित्यकार तथा स्रष्टाहरू उत्साहित बनेका थिए।


कवि भरतमणि ढुंगानाले आफ्नो मन्तव्यका क्रममा कृति लेखन यात्राका अनुभव सुनाउँदै “आमा” केवल एउटा पुस्तक नभई मातृत्वप्रतिको श्रद्धा, प्रेम र भावनाको अभिव्यक्ति भएको बताउनुभयो। उहाँले आफ्नो साहित्यिक यात्रामा साथ, सहयोग र प्रेरणा दिने सबैप्रति आभार व्यक्त गर्नुभयो।


कार्यक्रमको अन्त्यमा सभापति रामेश्वर श्रेष्ठ “शैलेन्द्र” ले तरेली साहित्य प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा साहित्यिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले साहित्य समाज परिवर्तनको बलियो आधार भएको उल्लेख गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, साहित्यकार, पत्रकार, स्रष्टा तथा सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया