शंखरापुर, काठमाडौं — रसुवा र नुवाकोटमा भदौ १० गते आएको विनाशकारी बाढीको सातौँ दिनसम्म पनि जलविद्युत् आयोजनाका सुरुङ तथा आयोजनास्थलमा फसेका कर्मचारी र श्रमिकको अवस्था पत्ता लाग्न सकेको छैन। उद्धार प्रयास सफल हुन नसकेपछि सरकारले बल्ल सम्बन्धित आयोजना प्रवर्द्धक र निर्माण कम्पनीलाई प्राविधिक जनशक्ति तथा उपकरणसहित खोज तथा उद्धारमा परिचालन हुने अनुमति दिएको छ।
नेपाली सेनाको नेतृत्वमा सात दिनदेखि भइरहेको खोजीमा दुई आयोजनाका सुरुङभित्र प्रवेश गरिए पनि फसेकाको अवस्था यकिन हुन सकेन। सुरुङमा पानी भरिनु र भौतिक अवरोधका कारण उद्धार थप चुनौतीपूर्ण बनेको छ।
बाढीबाट रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा कार्यरत ८९४ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। तीमध्ये माथिल्लो त्रिशूली–१ का ५७३ जना, रसुवागढीका ९३ जना, लाङटाङ खोलाका ४१ जना र माथिल्लो त्रिशूली–३ ‘ए’का ४२ जना छन्।
लाङटाङ र माथिल्लो त्रिशूली–१ आयोजनाले आफ्ना प्राविधिक टोली तथा आवश्यक उपकरण परिचालनको तयारी थालेका छन्। पानी हटाउने, सुरुङको अवरोध पन्छाउने र लिफ्टिङ उपकरण प्रयोग गरी खोजी अघि बढाउने तयारी गरिएको छ।
सात दिनसम्म पनि ठूलो सङ्ख्यामा कर्मचारी तथा श्रमिक सम्पर्कविहीन रहँदा आफन्तमा चिन्ता बढेको छ। अब सरकारी उद्धार संयन्त्र र आयोजनाका प्राविधिक टोलीबीच समन्वय गरी समय नगुमाई खोज तथा उद्धार तीव्र पार्नुपर्ने अवस्था छ।