शंखरापुर,काठमाण्डौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झन्डै दुई महिनापछि नेपाली कांग्रेसले सांसद भीष्मराज आङ्देम्बे लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ। सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेता चयन गरेको हो।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले नवनिर्वाचित दल नेता आङ्देम्बेलाई प्रमाणपत्र प्रदान गरेका थिए। समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य रहेका आङ्देम्बे कांग्रेसका निवर्तमान सहमहामन्त्री समेत हुन्।
आङ्देम्बे १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका थिए। कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय ६१ वर्षीय आङ्देम्बे पाँचथरको प्रभावशाली राजनीतिक परिवारबाट आएका नेता मानिन्छन्।
उनका माहिला बुबा प्रेमराज आङ्देम्बे नेपाली कांग्रेसका अग्रणी नेता तथा बीपी कोइराला का निकट सहयोगी थिए। २०१६ सालमा बनेको पहिलो जननिर्वाचित सरकारमा उनले ग्रामीण विकास मन्त्री तथा पछि खाद्य तथा कृषि राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
त्यस्तै, उनका जेठा बुबा देउमान आङ्देम्बे २०१२ सालमा टंकप्रसाद आचार्य नेतृत्वको सरकारमा नेपालकै पहिलो लिम्बू मन्त्री बनेका थिए।
आङ्देम्बेका पिता घनेन्द्रराज आङ्देम्बे स्थानीय तहमा प्रभावशाली नेता थिए। उनी तत्कालीन नवमीडाँडा गाविस अध्यक्ष तथा अम्लाबुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहेका थिए।
भीष्मराज आङ्देम्बे विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा स्थापित भएका हुन्। २०३६ सालको जनमतसंग्रहमा बहुदल पक्षमा सक्रिय रहेका उनी २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी थिए।
उनी २०५६, २०७०, २०७४ र २०७९ सालमा प्रत्यक्ष निर्वाचन लडेका थिए भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए। यसपटक भने समानुपातिक सूचीमार्फत प्रतिनिधिसभामा पुगेका हुन्।
कांग्रेसभित्र संसदीय दल नेता चयनमा लामो समयदेखि सहमतिको प्रयास चलिरहेको थियो। पछिल्लो समय उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा उपसभापति र दुई महामन्त्री सम्मिलित समिति गठन गरिएको थियो। सोही समितिले सर्वसम्मत नेतृत्व चयनका लागि वातावरण तयार पारेको बताइएको छ।
संसदीय दल नेताका लागि अर्जुननरसिंह केसी, मोहन आचार्य लगायत अन्य आकांक्षीहरूको नाम चर्चामा रहे पनि अन्ततः आङ्देम्बेको नाममा सहमति जुटेको हो।
सभापति थापाले केन्द्रीय कार्यसम्पादन समितिमा आङ्देम्बेको नाम प्रस्ताव गरेपछि पूर्वसभापति देउवा, नेता पूर्णबहादुर खड्का तथा शेखर कोइराला पक्षले समेत असहमति जनाएनन्। त्यसपछि आङ्देम्बे सर्वसम्मत रूपमा संसदीय दल नेता चयन भएका हुन्।
कांग्रेसभित्रको आन्तरिक एकता, सन्तुलन र आगामी संसदीय रणनीतिलाई ध्यानमा राख्दै गरिएको यो निर्णयलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको छ।