साँखु काठमाण्डौं । शंखरापुर नगरपालिका वडा नं ९ रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको शैक्षिक, सामाजिक तथा भौतिक विकासलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि शंखरापुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष शहदेव श्रेष्ठ रहेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल्सी नारायण श्रेष्ठ को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
वार्षिकोत्सवका अवसरमा सभाहल व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य नवीन कुमार श्रेष्ठ ले रु. ३० हजार आर्थिक सहयोग प्रदान गरेका छन्। विद्यालय परिवारले उहाँप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै उक्त सहयोगले विद्यालयको सभाहललाई अझ व्यवस्थित, सहज तथा विद्यार्थी, शिक्षक, अभिभावक एवं अतिथिहरूका लागि अनुकूल वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने जनाएको छ।
विद्यालय प्रशासनका अनुसार शिक्षा क्षेत्रप्रतिको नवीन कुमार श्रेष्ठको सकारात्मक सोच, सहयोगी भावना तथा विद्यालयप्रतिको समर्पण अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासमा निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, यस वर्षको एसईई परीक्षामा उत्तीर्ण भएका विद्यालयका सम्पूर्ण १८ जना विद्यार्थीलाई “ Tokan of Love ” संस्थाको सहयोगमा सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी अध्ययन यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो।
त्यसैगरी, शैक्षिक सत्र २०८२ मा शिशु कक्षादेखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल्सी नारायण श्रेष्ठले जानकारी दिए। उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र, पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई खादा ओढाएर सम्मान तथा धन्यवाद ज्ञापन गरिएको थियो। विद्यालयको गुणस्तरीय शिक्षामा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको समर्पणको उच्च प्रशंसा गरिएको थियो।
वार्षिकोत्सव समारोहमा विद्यालयको शैक्षिक उन्नति, अनुशासन, अतिरिक्त क्रियाकलाप तथा भौतिक पूर्वाधार विकासका विषयमा समेत चर्चा गरिएको थियो। सहभागीहरूले सामुदायिक विद्यालयको विकासका लागि स्थानीय समुदाय, अभिभावक तथा सरोकारवालाको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।