अदालत प्रशासनविरुद्ध नेपाल बारको कडा आपत्ति

lawanyasandesh.com

साँखु,काठमाण्डौं। नेपाल बार एसोसियन ले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको आरोप लगाउँदै कडा आपत्ति जनाएको छ । बारले अदालत प्रशासनको गतिविधिलाई संविधान, न्याय प्रशासन ऐन र सर्वोच्च अदालत नियमावली विपरीत रहेको दाबी गर्दै विरोधका कार्यक्रमसमेत घोषणा गरेको हो ।


बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला द्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा दर्ता हुन आएका विभिन्न संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपीठ गरी फर्काएको उल्लेख गरिएको छ । ती दरपीठउपरका निवेदनसमेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध सिर्जना गरिएको बारको आरोप छ ।

विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ तथा सर्वोच्च अदालत नियमावली, २०७४ बमोजिम कायममुकायम प्रधानन्यायाधीशले निवेदन दर्ता गर्न आदेश दिँदासमेत अदालत प्रशासनले त्यसको अवज्ञा गरेको आरोप बारले लगाएको छ । अदालत प्रशासनको यस्तो व्यवहारलाई “असाधारण, अप्राकृतिक र गैरकानुनी” भन्दै बारले यसलाई न्यायिक इतिहासमा “ऐतिहासिक भूल” का रूपमा अभिलेखीकरण हुने टिप्पणीसमेत गरेको छ ।

नेपाल बारले अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गरिएको विषयप्रति पनि गम्भीर असन्तुष्टि जनाएको छ । संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दामाथि संसद्मा छलफल गर्न बन्देज लगाएको अवस्थामा प्रतिनिधिसभामा केही सांसदहरूले उक्त विषयमा टिप्पणी गरेको भन्दै बारले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बारले ती अभिव्यक्तिहरू संसदीय अभिलेखबाट हटाउन सभामुखसमक्ष आग्रहसमेत गरेको छ ।

बार एशोसिएशनले सर्वोच्च अदालत प्रशासनको गतिविधिविरुद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । घोषित कार्यक्रमअनुसार २०८३ जेठ ५ गते दिउँसो १ः१५ बजे नेपाल बार एसोसिएशन परिसरमा “लालटिन बालेर” विरोध प्रदर्शन गरिनेछ । बारले उक्त कार्यक्रम न्याय, विवेक र स्वच्छ न्यायिक प्रक्रियाको पक्षमा प्रतीकात्मक विरोधका रूपमा आयोजना गर्न लागिएको जनाएको छ ।

त्यसैगरी, सल्लाहकार तथा विभिन्न एकाइबाट प्राप्त सुझावका आधारमा आगामी दिनमा थप संघर्षका कार्यक्रम सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । आन्दोलनलाई सफल बनाउन सम्पूर्ण कानुन व्यवसायीहरूलाई गरिमामय उपस्थितिका लागि नेपाल बारले आग्रह गरेको छ ।

यस घटनाक्रमले न्यायपालिका र अदालत प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको कानुन व्यवसायीहरूको भनाइ छ । न्यायिक स्वतन्त्रता, निवेदन दर्ताको अधिकार तथा संवैधानिक प्रक्रियाको सम्मानका विषयमा बहस तीव्र बन्दै गएको अवस्थामा नेपाल बारको यो कदमलाई न्याय क्षेत्रभित्रको महत्वपूर्ण दबाबमूलक हस्तक्षेपका रूपमा हेरिएको छ ।

प्रतिक्रिया