काठमाडौं–२ मा चुनावी माहोल तातिँदै: घरदैलो र अन्तरक्रियामा उम्मेदवारको सक्रियता

lawanyasandesh.com

साँखु,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी दिनानुदिन बढ्दै गएको छ। औपचारिक प्रचारप्रसार फागुन ४ गतेदेखि सुरु हुने कार्यतालिका रहे पनि उम्मेदवारहरू अहिले नै घरदैलो, टोलसभा तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा सक्रिय देखिएका छन्।

यसैक्रममा नेपाली कांग्रेस का तर्फबाट उम्मेदवार कबिर शर्मा ले फागुन २ गते शंखरापुर वडा नं. ४ र १ मा क्रियाशील मतदातासँग भेटघाट कार्यक्रम गरेका छन्। भेटघाटका क्रममा उनले मतदाताबाट प्राप्त आत्मीयता, माया र उत्साहजनक साथले आफू थप जिम्मेवार र प्रतिबद्ध बनेको प्रतिक्रिया दिए।

शर्माले विगतका निर्वाचनको तुलनामा यसपटक मतदाताको चासो र सहभागिता बढेको उल्लेख गर्दै स्थानीय समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको बताए। खानेपानी, बाटोघाटो सुधार, स्तरीय शिक्षा तथा स्थानीय स्तरमै रोजगारी सिर्जना जस्ता विषयमा विशेष पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

उनले मताधिकार केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई भविष्यको विकास दिशा तय गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै मतदाताले उम्मेदवारसँग सचेत र तथ्यमा आधारित प्रश्न राख्नुपर्ने धारणा पनि राखे। मतदाता सचेत र जवाफदेही बने मात्र लोकतन्त्रको वास्तविक बलियो आधार निर्माण हुने उनको भनाइ थियो।

काठमाडौं–२ मा उम्मेदवारहरूको घरदैलो र प्रत्यक्ष संवाद कार्यक्रम बढ्दै जाँदा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया