काङ्ग्रेसलाई बीपीको आदर्शमा फर्काउनुपर्नेमा गगन थापाको जोड, १५औँ महाधिवेशन निष्पक्ष हुने प्रतिबद्धता

lawanyasandesh.com

शाँखुंकाठमाण्डौं।नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई पुनः जनताको विश्वासको केन्द्र बनाउन बीपी कोइरालाको आदर्श र मूल्यमान्यतामा फर्किनुपर्ने बताएका छन्। झापामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरूमा पार्टीभित्र विकसित शक्ति–केन्द्रित राजनीतिक संस्कारलाई त्यागेर संगठन निर्माण र विचारको राजनीतिमा फर्कनुपर्ने आवश्यकता औँल्याए।


थापाले नेपाली काङ्ग्रेस नयाँ ढङ्गले सोच्नका लागि बाहिर कतै जानु नपर्ने भन्दै पार्टीका संस्थापक नेताहरूले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य र जनमुखी राजनीतिक दर्शनलाई पुनर्जीवित गर्नुपर्ने बताए। उनले भने, “बीचका आठ–दश वर्ष पावर, पावर र पावरको राजनीतिमा केन्द्रित भयौँ। अब त्यो सोचलाई इरेजरले मेटेर बीपी कोइरालाको नेतृत्वकालको स्वर्णिम काङ्ग्रेससँग आजको काङ्ग्रेसलाई फेरि जोड्नुपर्छ।”

उनले त्यसो गर्न सके नयाँ पुस्ता स्वतः काङ्ग्रेसतर्फ आकर्षित हुने विश्वास व्यक्त गरे। बाल काङ्ग्रेसदेखि पार्टीमा सक्रिय भएर आएका युवापुस्ताले पुनः उत्साहका साथ झण्डा बोक्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।


सभापति थापाले आगामी १५औँ महाधिवेशन सम्पूर्ण काङ्ग्रेसजनको साझा महाधिवेशन हुने स्पष्ट गर्दै विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा कसैमाथि विभेद हुन नहुने बताए। उनले सबै सदस्यले समान अवसरका साथ महाधिवेशनमा भाग लिन पाउनुपर्नेमा जोड दिए।

महाधिवेशनको निष्पक्षतामाथि कुनै शंका नरहोस् भन्ने उद्देश्यले आवश्यक सबै संयन्त्र निर्माण गर्न आफू तयार रहेको उनले बताए। सदस्यता अद्यावधिक, निर्वाचन समिति, छानबिन समिति तथा व्यवस्थापन समितिलगायत सबै संरचनामा आवश्यक सहमति खोज्न सकिने उल्लेख गर्दै उनले भने, “कसलाई राख्ने हो भन्नुस्, तपाईंहरूले भनेको व्यक्तिको नेतृत्वमा समिति बनाउन म तयार छु। तर विधानभन्दा बाहिर गएर काम गर्न सकिँदैन।”


थापाले विशेष महाधिवेशनपछि विकसित राजनीतिक परिस्थितिबारे पनि धारणा राखे। अदालतले विशेष महाधिवेशनलाई अवैध ठहर गरेको भए आफू र महामन्त्री विश्वप्रकाश शर्माले निर्णय स्वीकार गर्दै पदबाट राजीनामा दिने र पुनः महाधिवेशनको सामना गर्न कार्यकर्तामाझ जाने बताएका थिए। “हामी भागबन्डा खोज्दै वार्तामा बस्ने थिएनौँ, पार्टी सदस्यको निर्णय स्वीकार्थ्यौँ,” उनले भने।

उनले असन्तुष्ट नेताहरूलाई सम्मान व्यक्त गर्दै महाधिवेशन चाँडो र निष्पक्ष रूपमा सम्पन्न गर्नुपर्ने सुझाव स्वागतयोग्य भए पनि वर्तमान समितिमा पुरानो समिति मिसाएर शक्ति बाँडफाँट गर्ने प्रस्ताव विधान र राजनीतिक दुवै दृष्टिले अस्वीकार्य रहेको बताए।

सभापति थापाले पार्टीका शीर्ष नेताहरूलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्दै विगत २५–३० वर्षमा पटक–पटक सांसद, मन्त्री तथा उपप्रधानमन्त्री बन्ने अवसर पाइसकेका नेताहरूभन्दा नयाँ पुस्तालाई अवसर दिनुपर्ने समय आएको बताए। “अब पार्टीको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्रक्रियालाई स्वाभाविक रूपमा अघि बढाउनुपर्छ,” उनले भने।

उनले काङ्ग्रेसमा चार पुस्ता एकैपटक सक्रिय रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको मार्गदर्शन र युवापुस्ताको ऊर्जा मिलेर मात्र पार्टी बलियो बन्न सक्ने बताए। निष्कल राई, सन्तोष सुखपाल, गीता गुरुङलगायत नयाँ पुस्ताका नेताहरूको उदाहरण दिँदै उनले आगामी वर्षहरूमा यिनै पुस्ताले पार्टीको नेतृत्व सम्हाल्ने विश्वास व्यक्त गरे।

सदस्यता अद्यावधिकको विषयमा उनले पार्टीको डिजिटल प्रणाली लागू भइसकेको जानकारी दिँदै समयमै अद्यावधिक नगरेका सदस्यहरूलाई निर्वाचन प्रक्रियामा समावेश गर्न नसकिने स्पष्ट पारे। “व्यक्तिगत रूपमा सबैलाई चिन्छौँ र सम्मान गर्छौँ, तर प्रणालीले अद्यावधिक नभएका सदस्यलाई चिन्दैन,” उनले भने।

थापाले पार्टीभित्र संवाद, सहमति र लचकताको आवश्यकता स्वीकार गरे पनि संगठन सुधार र संस्थागत सुदृढीकरणको अभियानलाई कमजोर बनाउने प्रस्तावहरू स्वीकार गर्न नसकिने बताए। उनले विगतका कमजोरी सच्याउँदै पार्टीको प्रतिष्ठा, विचार र संगठनलाई केन्द्रमा राखेर अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरे।

उनका अनुसार नेपाली काङ्ग्रेसलाई एकताबद्ध बनाउने आधार कुनै व्यक्ति वा गुट नभई पार्टीको आदर्श, इतिहास र आम सदस्यहरूको भावना हुनुपर्छ। “पार्टीलाई मिलाएर लैजानु भनेको पार्टीको प्रतिष्ठालाई केन्द्रमा राख्नु हो,” भन्दै उनले सम्बोधन टुङ्ग्याएका थिए।

प्रतिक्रिया