साँखु काठमाण्डौ। गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २, दर्लिङमा शुक्रबार दिउँसो परेको चट्याङ लागेर तीन जना महिला घाइते भएका छन्। घाइते हुनेहरूमा स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरू खड्का र २९ वर्षीया विष्णु खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दिउँसो एक्कासि परेको चट्याङले उनीहरूलाई चोट पुर्याएको हो। घाइतेहरूलाई तत्कालै उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको जानकारी दिएको छ।
हालै सम्पन्न निर्वाचनबाट निर्वाचित रास्वपाका सांसद गोबिन्द पन्थीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। सांसद पन्थीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
पशुचौपायाको पनि क्षति चट्याङका कारण मानवीय क्षतिका साथै स्थानीयका तीन वटा बाख्रा समेत मरेका छन्। चट्याङले स्थानीय क्षेत्रमा अन्य भौतिक क्षति पुर्याएको छ कि छैन भन्नेबारे प्रहरीले थप विवरण संकलन गरिरहेको छ।
सतर्क रहन आग्रह सांसद पन्थीले वर्षा र मेघगर्जनको समयमा चट्याङको जोखिम उच्च रहने भएकाले सम्पूर्ण जिल्लाबासीलाई सजक र सतर्क रहन विशेष अनुरोध गर्नुभएको छ। "हावाहुरी र चट्याङको समयमा घरभित्रै बस्न र विद्युतीय उपकरणको प्रयोगमा सावधानी अपनाउन म सबैमा अपिल गर्दछु," उहाँले भन्नुभयो।