शंखरापुरका विद्यालयहरूको SEE २०८२ नतिजा उत्साहजनक

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं ।

शंखरापुर नगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्साहजनक नतिजा हासिल गरेका छन्। हालसम्म प्राप्त विवरणअनुसार वडा नं. ६, ७, ८ र ९ का विद्यालयहरूले उल्लेखनीय सफलता प्राप्त गरेका हुन्। समाचार तयार पारिएको समयसम्म शंखरापुरभरिका सबै विद्यालयहरूको पूर्ण तथ्यांक प्राप्त नभए पनि उपलब्ध विवरणले यस वर्ष शंखरापुरको शैक्षिक अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ।

यस वर्ष सबैभन्दा चर्चित उपलब्धिमध्ये एक हो श्री भगवती माध्यमिक विद्यालयको ऐतिहासिक सफलता। विद्यालयले SEE २०८२ मा सहभागी सम्पूर्ण ५२ जना विद्यार्थीलाई उत्तीर्ण गराउँदै शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयको औसत GPA ३.४८ रहेको छ भने १६ जना विद्यार्थीले A+(३.६देखि ४ GPA) तथा २९ जनाले A(३.२-३.६ )GPA ग्रेड प्राप्त गरेका छन्। छात्रतर्फ धर्मेन्द्र धितालले ३.९१ GPA तथा छात्रातर्फ करिना श्रेष्ठले ३.८६ GPA ल्याएर विद्यालय प्रथम बनेका छन्। प्रधानाध्यापक अनुप श्रेष्ठले विद्यार्थीको मेहनत, शिक्षकहरूको निरन्तर मार्गदर्शन तथा अभिभावकको सहयोगकै कारण यस्तो सफलता सम्भव भएको बताउनुभएको छ।

निजी विद्यालयतर्फ एभरग्रीन माध्यमिक विद्यालयले पनि उत्कृष्ट सफलता हासिल गर्दै शतप्रतिशत नतिजा ल्याएको छ। विद्यालयबाट परीक्षामा सहभागी ४५ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। एक विद्यार्थीले GPA ४.०० प्राप्त गरेका छन् भने पाँच जना विद्यार्थीले ३.९५ GPA हासिल गरेका छन्। विद्यालयका प्रधानाध्यापक लकस श्रेष्ठले अनुशासित अध्ययन वातावरण, अनुभवी शिक्षक र विद्यार्थीहरूको लगनशीलताले विद्यालयलाई उत्कृष्ट नतिजातर्फ डोर्‍याएको बताउनुभयो।

त्यसैगरी सेरेन हिल इङलिस स्कुलले पनि यस वर्ष उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका प्रधानाध्यापक बुद्धि बहादुर कार्कीका अनुसार SEE २०८२ मा सहभागी २६ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। तीमध्ये ५ जना विद्यार्थीले A+ ग्रेड हासिल गरेका छन् भने उच्चतम GPA ३.८६ रहेको छ। विद्यालयले शतप्रतिशत नतिजा कायम राख्दै निजी विद्यालयहरूको उत्कृष्ट शैक्षिक प्रदर्शनलाई थप मजबुत बनाएको छ।

शंखरापुर नगरपालिका वडा नं. ८ स्थित श्री शान्दिपनी ज्ञान मन्दिर माध्यमिक विद्यालयले पनि यस वर्ष उत्कृष्ट नतिजा ल्याएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजन खड्काका अनुसार SEE परीक्षामा सहभागी २२ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। तीमध्ये ५ जना विद्यार्थीले A+ ग्रेड हासिल गरेका छन् भने उच्चतम GPA ३.८६ रहेको बताइएको छ। विद्यालयले निरन्तर सुधारिएको शैक्षिक वातावरणमार्फत उत्कृष्ट उपलब्धि हासिल गरेको जनाइएको छ।

यसैगरी वडा नं. ९ सानोगाउँस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले लगातार दोस्रो वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुल्सी नारायण श्रेष्ठका अनुसार SEE परीक्षामा सहभागी सबै १८ जना विद्यार्थी उत्तीर्ण भएका छन्। पोहोर वर्षझैँ यस वर्ष पनि विद्यालयले शतप्रतिशत नतिजा कायम राखेको भन्दै उहाँले शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्नुभएको छ।

यता शंखरापुरकै पुरानो तथा ऐतिहासिक विद्यालयमध्ये एक श्री भाग्योदय माध्यमिक विद्यालयले यस वर्ष मिश्रित नतिजा सार्वजनिक गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी ३६ जना विद्यार्थीमध्ये २८ जना उत्तीर्ण भएका छन् भने ८ जना विद्यार्थी नन–ग्रेडमा परेका छन्। विद्यालयका अनुसार नन–ग्रेड भएका विद्यार्थीमध्ये ७ जना गणित विषयमा तथा १ जना सामाजिक विषयमा आवश्यक ग्रेड प्राप्त गर्न नसकेका हुन्। विद्यालयका सहप्राध्यापक बिरेन्द्र श्रेष्ठका अनुसार यस वर्ष विशेषगरी गणित विषय अधिकांश विद्यार्थीका लागि चुनौतीपूर्ण बनेको देखिएको छ। उहाँले आगामी दिनमा अतिरिक्त कक्षा, अभ्यास कार्यक्रम तथा शैक्षिक परामर्शमार्फत विद्यार्थीहरूको सिकाइ उपलब्धि अझ सुधार गर्ने योजना रहेको जानकारी दिनुभयो।

हालसम्म प्राप्त विवरणले शंखरापुर क्षेत्रमा सामुदायिक र निजी विद्यालयबीच स्वस्थ शैक्षिक प्रतिस्पर्धा बढ्दै गएको देखाएको छ। विशेषगरी सामुदायिक विद्यालयहरूले समेत उत्कृष्ट नतिजा हासिल गर्न थालेपछि स्थानीय स्तरमै गुणस्तरीय शिक्षा सम्भव रहेको विश्वास थप बलियो बनेको छ। विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावकबीचको सहकार्यले शंखरापुरलाई शिक्षा क्षेत्रमा थप अग्रसर बनाउँदै लगेको स्थानीय शिक्षाप्रेमीहरूको भनाइ छ।

समाचार तयार पारिएको समयसम्म शंखरापुर नगरपालिकाभित्रका सबै विद्यालयहरूको विस्तृत तथ्यांक प्राप्त भइनसकेको भए पनि उपलब्ध नतिजाहरूले यस वर्षको SEE परीक्षामा शंखरापुर क्षेत्रले समग्र रूपमा उत्साहजनक सफलता हासिल गरेको स्पष्ट संकेत गरेका छन्।

प्रतिक्रिया