साँखु– काठमाडौं । नेपाली कांग्रेसले नियमित १५औं महाधिवेशनको तयारी अघि बढाउँदै पार्टीभित्रको विवाद मिलाउन देउवा पक्षसँग संवाद तीव्र बनाएको छ। विशेष महाधिवेशनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्दै सहमति खोज्ने रणनीति अघि सारेको हो।
मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेलले भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने प्रस्ताव पेश गरेका थिए। कार्यतालिकाअनुसार चैत २१ देखि क्रियाशील सदस्यतासम्बन्धी फारम वितरण गर्ने र वैशाख महिनाभर नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने योजना छ।
सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सबैलाई नियमित महाधिवेशनमा समेट्ने गरी संवाद अघि बढाइने बताए। पार्टीभित्रका सबै धारसँग पूर्वाग्रहबिना छलफल गरेर महाधिवेशन सम्पन्न गर्ने र त्यसबाट संगठनात्मक रूपान्तरण गर्ने उनको भनाइ थियो।
तर देउवा पक्ष विशेष महाधिवेशनदेखि नै असन्तुष्ट रहँदै आएको छ। गत पुस मसान्तमा भएको विशेष महाधिवेशनमा उक्त पक्ष सहभागी नभएको थियो। सो महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको नाममा सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दा अहिले पनि विचाराधीन छ।
यसबीच प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको कमजोर प्रदर्शनपछि पार्टीभित्र पुनः विवाद चर्किएको छ। अधिकांश उम्मेदवार पराजित भएपछि दुवै पक्षबीच संवाद आवश्यक भएको नेताहरूको भनाइ छ। देउवा पक्षले अदालतको फैसला नआएसम्म नियमित महाधिवेशनमा जान कठिन हुने धारणा राख्दै आएको छ भने केही नेताहरूले बीचको बाटो खोज्न सुझाव दिएका छन्।
केन्द्रीय कार्यसमितिले देउवा पक्षसँग वार्ता गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी दिएको छ। पार्टीलाई एकताबद्ध बनाउँदै नियमित महाधिवेशनमा लैजान संवाद प्रक्रिया अघि बढाइएको नेताहरूले बताएका छन्।
पार्टीभित्र दुवै कार्यसमिति मर्ज गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव पनि उठेको छ। पूर्वसहमहामन्त्री महेन्द्र यादवले एकताको विकल्पस्वरूप यस्तो मोडेल अपनाउन सकिने बताएका छन्। केही नेताहरूले अदालतको फैसला पछि मात्र स्पष्ट बाटो खुल्ने धारणा व्यक्त गरेका छन्।
नेता नैनसिंह महरले सबै पक्षले आवेग र असहमति छाडेर साझा लक्ष्यसहित १५औं महाधिवेशनतर्फ अघि बढ्नुपर्ने बताए। पार्टी एकताबद्ध नभए कांग्रेसको भविष्य कमजोर हुने चेतावनी दिँदै उनले संवाद र सहमतिलाई प्राथमिकता दिन आग्रह गरेका छन्।