स्कटल्यान्डमाथि नेपाल ‘ए’ को शानदार जित, ४५ रनले पराजित

lawanyasandesh.com

साँखु,काठमाण्डौं : नेपाल ‘ए’ ले स्कटल्यान्डविरुद्धको पहिलो अभ्यास खेलमा प्रभावशाली प्रदर्शन गर्दै ४५ रनको शानदार जित दर्ता गरेको छ । माथिल्लो मूलपानी मैदानमा सम्पन्न खेलमा नेपाल ‘ए’ ले ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्यान्डलाई दबाबमा राखेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमा समेटिँदा नेपालले महत्वपूर्ण जित हात पार्न सफल भयो ।
नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको शानदार अर्धशतकीय पारी खेले । उनले ६५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै टोलीको इनिङ्स मजबुत बनाएका थिए । ओपनर मयन यादवले ४५ रन जोड्दा अनिल शाहले १८ रन बनाए । मध्यक्रममा सन्दीप जोराले ३४ रनको योगदान दिए भने पवन सर्राफले ३१ रन थपे ।
त्यस्तै वसिर अहमदले १७ रन बनाउँदा रासिद खान १४ रनमा आउट भए । अन्तिम समयमा दिपकप्रसाद डुम्रे २३ रनमा अविजित रहँदा नेपालको स्कोर बलियो बनेको थियो ।
स्कटल्यान्डका बलरमध्ये ब्राड्ले जेम्स करी र साफ्यान सरिफले समान २–२ विकेट लिए । ज्याक जार्भिस, ओलिभर डेभिसन र मार्क वाटले समान १–१ विकेट हात पारे ।
२७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले सुरुआत राम्रो गरे पनि निरन्तर विकेट गुमाउँदा लक्ष्यसम्म पुग्न सकेन । स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले सर्वाधिक ५२ रन बनाए । उनले ७३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।
मार्क वाटले ३७ रन बनाए । यी दुई ओपनरले पहिलो विकेटका लागि ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई राम्रो सुरुआत दिलाएका थिए ।
यद्यपि त्यसपछि नेपालका बलरहरूले उत्कृष्ट पुनरागमन गर्दै स्कटल्यान्डलाई दबाबमा राखे । ब्रान्डन म्याकमुलेनले २१, म्याथयू क्रसले २२ तथा ओलिभर डेभिसनले १७ रन बनाए । ओलिभर डेभिसन र ज्याक जार्भिसबीच आठौं विकेटका लागि ५१ रनको साझेदारी भए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
ज्याक जार्भिसले व्यक्तिगत ४५ रन बनाए भने ज्यासपर डेभिसन १४ रनमा अविजित रहे ।
नेपालका बलरमध्ये रासिद खान सर्वाधिक सफल सावित भए । उनले ३ विकेट लिँदै स्कटल्यान्डको मध्यक्रम धराशायी बनाए । साहब आलम, युवराज खत्री र वसिर अहमदले समान २–२ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे ।
यो जितसँगै नेपाल ‘ए’ ले अभ्यास शृंखलामा सुखद सुरुआत गरेको छ । नेपाल ‘ए’ ले अब दोस्रो अभ्यास खेल शुक्रबार अमेरिकाविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया