इजरायलको बहुस्तरीय हवाई प्रतिरक्षा प्रणालीलाई चक्मा दिँदै इरानको मिसाइल प्रहार, सयभन्दा बढी घाइते।

lawanyasandesh.com

साँखु, काठमाण्डौंमध्यपूर्वमा जारी तनावबीच अत्यन्त सुरक्षित मानिने इजरायलको बहुस्तरीय हवाई प्रतिरक्षा प्रणालीलाई इरानले शनिबार मिसाइल प्रहारमार्फत चक्मा दिएको छ। दक्षिणी इजरायलका डिमोना र अराद क्षेत्रमा खसेका दुई मिसाइलका कारण एक सयभन्दा बढी मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायलको आकाश विश्वकै सुरक्षितमध्ये मानिन्छ। आयरन डोम, डेभिड्स स्लिङ र एरो प्रणालीजस्ता तह–तहमा काम गर्ने हवाई प्रतिरक्षा प्रणालीले छोटो दूरीका रकेटदेखि लामो दूरीका ब्यालिस्टिक मिसाइलसम्मलाई आकाशमै नष्ट गर्ने क्षमता राख्छन्। पछिल्ला वर्षहरूमा हमास र हिजबुल्लाहबाट प्रहार गरिएका अधिकांश ड्रोन तथा मिसाइल इजरायलले आकाशमै निष्क्रिय पार्दै आएको थियो।
साथै, रडारले मिसाइल पत्ता लगाउनेबित्तिकै साइरन बज्ने चेतावनी प्रणाली, मोबाइल एप तथा सुरक्षित बंकर वा ‘सेफ रुम’को व्यवस्थाले सर्वसाधारणलाई छिटो सुरक्षित स्थानमा पुग्न सहयोग गर्ने गरेको छ। तर शनिबारको आक्रमणमा यी प्रणाली सक्रिय रहे पनि केही मिसाइल रोक्न नसकिएको जनाइएको छ।
डिमोना इजरायलको गोप्य आणविक रियाक्टर नजिकको क्षेत्र हो। त्यहाँ खसेको मिसाइलबाट कम्तीमा ४० जना घाइते भएका छन् भने १० वटा अपार्टमेन्ट भवनमा क्षति पुगेको बताइएको छ। तीमध्ये तीन भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। भग्नावशेषबाट मानिसहरू निकाल्न उद्धारकर्ताले लामो समय लगाएको रोयटर्सले उल्लेख गरेको छ।
अराद क्षेत्रमा भएको अर्को आक्रमणमा कम्तीमा ६४ जना घाइते भएका छन्। आपतकालीन सेवा ‘मगेन डेभिड एडम’का अनुसार सात जनाको अवस्था गम्भीर छ।
आक्रमण प्रभावित क्षेत्रको अवलोकन गर्न आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू पुगेका थिए। उनले ठूलो मानवीय क्षति हुनबाट ‘भाग्यले जोगाएको’ प्रतिक्रिया दिएका छन्। “पछिल्लो ४८ घन्टामा इरानले विश्वलाई कति खतरामा पार्न सक्छ भन्ने देखिएको छ,” उनले भने।
यस घटनापछि इजरायलको प्रतिरक्षा प्रणालीको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। सैन्य विश्लेषकहरूले इरानले उच्च गति, मार्ग परिवर्तन गर्न सक्ने क्षमता तथा सम्भवतः बहु–वारहेड भएको उन्नत मिसाइल प्रयोग गरेको हुनसक्ने आकलन गरेका छन्। एकैपटक धेरै मिसाइल प्रहार गरी प्रतिरक्षा प्रणालीलाई ‘ओभरलोड’ गर्ने रणनीति अपनाइएको अनुमान पनि गरिएको छ।
विश्लेषकहरूका अनुसार हालसम्म इरानबाट प्रहार गरिएका करिब ८०–९० प्रतिशत ड्रोन र मिसाइल इजरायलले निष्क्रिय पार्दै आएको छ। तर उच्च गतिको वा बहु–वारहेडयुक्त मिसाइल रोक्न चुनौतीपूर्ण हुने बताइन्छ।
यसअघि पनि इरानले क्लस्टर वारहेडसहितको मिसाइल प्रहार गर्दा तेल अविभ नजिकै क्षति पुगेको थियो। त्यस्तै, इरानले हिन्द महासागरस्थित डिएगो गार्सियामा रहेको अमेरिका–बेलायतको सैन्य अड्डातर्फ करिब ४ हजार किलोमिटर दूरीमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरिएको छ। यो तीन साताको युद्धमा इरानको सबैभन्दा लामो दूरीको प्रहार मानिएको छ।
इरानले डिमोनामाथिको आक्रमण नतान्जस्थित आफ्ना आणविक केन्द्रमाथि भएको भनिएको हमलाको बदलाका रूपमा गरेको जनाएको छ। यद्यपि इजरायलले नतान्जमा आक्रमण गरेको अस्वीकार गरेको छ।
युद्ध चौथो हप्तामा प्रवेश गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुलाउन इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका छन्। इरानले उक्त समुद्री मार्ग आंशिक रूपमा अवरुद्ध गरेपछि विश्व बजारमा आपूर्ति हुने २० प्रतिशतभन्दा बढी पेट्रोलियम ढुवानी प्रभावित भएको बताइएको छ।

प्रतिक्रिया