साँखु,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार अपराह्न ४ बजे बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा आयोजना गरिने छ।
पार्टीका प्रवक्ता मनिष झाले बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने जानकारी दिएका छन्। संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ बिहीबार दिउँसो २ बजे तय गरेसँगै त्यसलगत्तै रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो।
रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको थियो। सोही पृष्ठभूमिमा दल नेता चयन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ।
रास्वपाको मौजुदा विधानको धारा ६६ (८) को क र ख मा संघीय संसदको दल नेता चयनसम्बन्धी व्यवस्था रहेको छ। उक्त व्यवस्थाअनुसार संघीय निर्वाचनअघि समानुपातिक तथा प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारबीच निर्वाचन गरी प्रतिनिधिसभा संसदीय दलको नेता चयन गरिने र पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान छ।
तर, हालको परिस्थितिमा सो व्यवस्था परिमार्जन गर्दै वरिष्ठ नेतालाई प्रत्यक्ष रूपमा दल नेता प्रस्ताव गर्ने विषयमा छलफल हुने कार्यसूची तय गरिएको नेताहरूले बताएका छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिक मत प्राप्त गरेपछि सरकार गठन र नेतृत्व चयन प्रक्रिया पार्टीभित्र महत्वपूर्ण विषय बनेको छ।