शब्दका ऐनामा समाजको अनुहार: स: दबू साहित्यको पाँचौँ शृङ्खलामा रामेश श्रेष्ठका १५ नेपालभाषाका लघुकथा गुञ्जिए

lawanyasandesh.com

शंखरापुर, काठमाडौँ ।

साहित्यले समयको साक्षी मात्र बन्दैन, समाजको अन्तरचेतनालाई पनि शब्दमा अनुवाद गर्छ। यही विश्वासलाई आत्मसात् गर्दै नेपालभाषा साहित्यको संरक्षण, संवर्द्धन र सर्जकहरूको सिर्जनात्मक यात्रालाई सम्मान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको 'स: दबू साहित्य' को पाँचौँ शृङ्खला शनिबार ललितपुरको ऐतिहासिक तलाछें टोलमा सम्पन्न भएको छ।


वि.सं. २०८२ चैत ७ गतेदेखि हरेक महिनाको पहिलो शनिबार आयोजना हुँदै आएको एकल लघुकथा वाचन अभियानअन्तर्गत यसपटक साँखु निवासी स्रष्टा रामेश श्रेष्ठले आफ्ना १५ वटा नेपालभाषा लघुकथामार्फत समकालीन समाजका अनेक यथार्थ, मानवीय संवेदना, सामाजिक विकृति–विसङ्गति र चेतनाका विविध आयामलाई प्रभावशाली ढङ्गले प्रस्तुत गर्नुभयो।


कार्यक्रममा ललितपुर तथा काठमाडौँ उपत्यकाका करिब ३५ देखि ४० जना साहित्यप्रेमी, बुद्धिजीवी, भाषाविद् तथा नेपालभाषाप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। करिब दुई घण्टासम्म चलेको वाचनमा श्रोताहरू अन्तिम क्षणसम्म एकाग्र भएर कथाको भावभूमिमा डुबेका देखिन्थे।


तीन चरणमा सम्पन्न वाचनमा पहिलो चरणमा "पित्या प्वाया आतङ्क", "सिना याय मा:गु ज्या सिनाज्या", "चिबाखँ", "प्रतिगमनया हिस्सेदार जि, छि अले झी" र "स्वम्हेसिया बाखँ" प्रस्तुत गरिए। दोस्रो चरणमा "झसुका: आगतया", "अले बौम्ह झसङ्ग वन", "वा या दुने जाकी दु", "पश्चाताप" र "हिउपा" वाचन गरियो भने अन्तिम चरणमा "काय् या म्हगस", "चेतना", "काय् यात अंश, म्हयाय् यात हंश", "धेंधेंबल्ला" र "चि या धर्म" शीर्षकका लघुकथाले समाजका विविध पक्षमाथि गम्भीर विमर्श प्रस्तुत गरे।


वाचनपछि साहित्यप्रेमी एवं नाटककार जीवन लाल श्रेष्ठले रामेश श्रेष्ठका लघुकथाहरूले वर्तमान समाजका यथार्थलाई संवेदनशील र जीवन्त रूपमा अभिव्यक्त गरेको बताउँदै यस्ता सिर्जनाले पाठक र श्रोतालाई आत्ममूल्याङ्कन गर्न प्रेरित गर्ने धारणा राख्नुभयो।


त्यसैगरी, तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा गजलकार रामेश्वर श्रेष्ठले स्रष्टा श्रेष्ठका सिर्जनामा समाजमा मौलाउँदै गएका विकृति र विसङ्गतिमाथि गहिरो व्यङ्ग्य, चिन्तन र चेतनाको सशक्त स्वर रहेको उल्लेख गर्दै यस्ता साहित्यिक अभियानले नेपालभाषा साहित्यलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।


कार्यक्रममा स: दबू साहित्यका कविन्द्र लाल प्रधानले स्रष्टा रामेश श्रेष्ठलाई माला लगाई स्वागत गर्नुभएको थियो। अभियन्ता तथा कार्यक्रम संयोजक सुधिर ख्वविले धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गर्नुभयो भने कार्यक्रमको सहजीकरण समा श्रीले स्रष्टाको साहित्यिक परिचयसहित गर्नुभएको थियो।


शंखरापुर नगरपालिका–६, साँखु इपाटोल निवासी रामेश श्रेष्ठ व्यवसायसँगै कविता, हाइकु, लघुकथा र मुक्तक लेखनमा सक्रिय हुनुहुन्छ। नेपालभाषा साहित्यको विकासका लागि उहाँ विभिन्न साहित्यिक संस्थामार्फत निरन्तर क्रियाशील रहँदै आउनुभएको छ। साहित्यसँगै उहाँ टेबल टेनिस खेलाडी तथा सामाजिक अभियन्ताका रूपमा पनि परिचित हुनुहुन्छ।


नेपालभाषा साहित्यलाई पुस्तान्तरण गर्दै नयाँ पुस्तालाई मातृभाषाप्रति आकर्षित गर्ने अभियानका रूपमा अघि बढिरहेको स: दबू साहित्यको मासिक एकल लघुकथा वाचन कार्यक्रमले साहित्यिक वृत्तमा विशिष्ट पहिचान बनाउँदै गएको सहभागीहरूको विश्वास छ। यस शृङ्खलाले सिर्जना, समाज र संस्कृतिबीचको सम्बन्धलाई थप जीवन्त बनाएको अनुभूति सहभागीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया