सुकुटे बीचमा साँखु जेसिजको २६औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न, नेतृत्व विकास र सामाजिक सेवालाई निरन्तरता दिने प्रतिबद्धता

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं । सामाजिक उत्तरदायित्व, युवा नेतृत्व विकास तथा सामुदायिक सेवामा निरन्तर सक्रिय संस्था साँखु जेसिजले आफ्नो २६औँ स्थापना दिवस (जेसिज डे) सिन्धुपाल्चोकको पर्यटकीय गन्तव्य सुकुटे बीचमा दुईदिने विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ।

असार १३ र १४ गते सम्पन्न कार्यक्रममा संस्थाको भावी कार्यदिशा, नेतृत्व विकास, आर्थिक स्रोत व्यवस्थापन, सामाजिक सेवा तथा 'जेसिज सप्ताह २०२६' अन्तर्गत सञ्चालन गरिने विविध कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा साँखु जेसिजका पूर्वअध्यक्ष, बोर्ड पदाधिकारी, सदस्य तथा जेसिज अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले संस्थाको दिगो विकासका लागि फण्ड रेजिङ, विभिन्न उपसमितिको कार्ययोजना, सदस्यहरूको जिम्मेवारी तथा संस्थालाई अझ प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने विषयमा सुझाव आदानप्रदान गरेका थिए। यस अवसरले सदस्यहरूबीच आपसी सहकार्य, नेतृत्व क्षमता अभिवृद्धि तथा संगठनात्मक एकतालाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो।

संस्थाले @वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, खेलकुद, रक्तदान, स्वास्थ्य सेवा तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

साँखु जेसिज २०२६ का अध्यक्ष जेसि आशिष श्रेष्ठले २६औँ जेसिज डे सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै आगामी कार्यक्रमहरूलाई अझ प्रभावकारी, व्यवस्थित र समुदायमुखी बनाइने बताउनुभयो। उहाँले जेसिजमा संयोजकको भूमिका केवल जिम्मेवारी बहन गर्ने पद मात्र नभई नेतृत्व, व्यक्तित्व विकास तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, "जेसिजमा संयोजक बन्नु भनेको नेतृत्व सिक्ने पहिलो विद्यालय हो। यसबाट धेरै अनुभव र सिकाइ प्राप्त हुन्छ। सबै संयोजकलाई आवश्यक साथ, सहयोग र मार्गदर्शन गर्न म सधैँ तयार छु।"

अध्यक्ष श्रेष्ठले साँखु जेसिज २०२६ अन्तर्गत सञ्चालन हुने सम्पूर्ण कार्यक्रममा समुदायबाट निरन्तर साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गर्दै शंखरापुरमा इतिहास बोकेको संस्थालाई अझ प्रभावकारी सामाजिक संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो।

कार्यक्रमका संयोजक तथा साँखु जेसिज वर्ष २०२२ का अध्यक्ष जयराम श्रेष्ठले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा जेसिज डे तथा जेसिज सप्ताह आयोजना गर्ने परम्पराले सदस्यहरूबीच आपसी एकता, भाइचारा र नेतृत्व विकासलाई थप मजबुत बनाउँदै आएको बताउनुभयो। उहाँले जनविश्वासलाई केन्द्रमा राखेर आगामी दिनमा पनि समाज रूपान्तरणमा योगदान पुग्ने रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो।

यसैबीच, रक्तदान कार्यक्रमका संयोजक कञ्चन श्रेष्ठले जेसिज सप्ताह अन्तर्गत सञ्चालन गरिने रक्तदान कार्यक्रमको तयारी तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रम सञ्चालनका लागि भक्तपुर रेडक्रससँग आवश्यक समन्वय सम्पन्न भइसकेको छ भने कार्यक्रम सफल बनाउन विभिन्न दातृ संस्था तथा सहयोगदातासँग आर्थिक स्रोत व्यवस्थापनका लागि छलफल भइरहेको छ।

उहाँले शंखरापुर नगरपालिकासँग पनि आवश्यक समन्वय भइरहेको जानकारी दिँदै स्वास्थ्य शाखासँग प्रारम्भिक छलफल सम्पन्न भइसकेको र नगर उपप्रमुखसँग समेत सकारात्मक संवाद भएको बताउनुभयो। उपप्रमुखबाट कार्यक्रमबारे थप विस्तृत छलफल गरी आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन प्राप्त भएको उहाँको भनाइ थियो।

कञ्चन श्रेष्ठले शंखरापुर क्षेत्रबाट बढीभन्दा बढी रक्तदाता सहभागी गराउने लक्ष्य राखिएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन आर्थिक सहयोग, स्वयंसेवी सहभागिता तथा सामुदायिक सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले आगामी केही दिनभित्र सम्बन्धित निकाय तथा सहयोगदातासँग थप समन्वय गरी आवश्यक स्रोत व्यवस्थापन गरिने जानकारी दिनुभयो।

त्यसैगरी, जेसिज सप्ताह २०२६ अन्तर्गत सातौँ कार्यक्रमका रूपमा आगामी साउन २ गते शनिबार भक्ति ब्याम्बो कटेजमा नगरस्तरीय खुला टेबल टेनिस प्रतियोगिता आयोजना गरिने भएको छ।

प्रतियोगिता संयोजक मनिष गोपाल कारंजित@का अनुसार प्रतियोगितामा व्यापक सहभागिता सुनिश्चित गर्न शंखरापुर नगरभित्र रहेका १४ वटा विद्यालयमा औपचारिक पत्राचार गरिसकिएको छ। प्रतियोगिताले युवामा खेल संस्कृतिको विकास, नयाँ प्रतिभाको पहिचान तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

दुईदिने स्थापना दिवस कार्यक्रमले साँखु जेसिजका सदस्यहरूबीच आपसी एकता, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाएको आयोजकको निष्कर्ष छ। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, खेलकुद, रक्तदान, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक सेवाका विविध कार्यक्रममार्फत शंखरापुर क्षेत्रमा सकारात्मक योगदानलाई निरन्तरता दिने संस्थाले प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया