साँखु,काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र नीतिगत बहस, अध्ययन–अनुसन्धान तथा जनसरोकारका विषयमा सक्रिय हस्तक्षेप बढाउने उद्देश्यसहित १२ वटा विषयगत उपसमिति गठन गरेको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधार, उद्यमशीलता तथा शिक्षा क्षेत्रलगायत विविध विषयमा केन्द्रित अभियान सञ्चालन गर्ने गरी उपसमिति गठन गरेको हो।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको प्रतिष्ठानको विस्तारित बैठकले विभिन्न समसामयिक र दीर्घकालीन नीतिगत विषयमा अध्ययन, संवाद, जनचेतना र कार्ययोजना निर्माण गर्ने उद्देश्यसहित उपसमितिहरू गठन गरेको जनाएको छ। बैठक बिहान ११:३० बजेदेखि अपराह्न ५:३० बजेसम्म चलेको थियो। बैठकको अध्यक्षता पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्मा ले गरेका थिए।
प्रतिष्ठानले गठन गरेका उपसमितिहरूलाई पार्टीको वैचारिक पुनर्संरचना, नीति निर्माणमा योगदान तथा समसामयिक राष्ट्रिय मुद्दामा कांग्रेसको स्पष्ट दृष्टिकोण तयार पार्ने माध्यमका रूपमा हेरिएको छ। पछिल्लो समय कांग्रेसभित्र वैचारिक बहस कमजोर भएको तथा संगठन नीति र अनुसन्धानभन्दा बढी गुटगत राजनीतिमा केन्द्रित भएको आलोचनाका बीच प्रतिष्ठानले सक्रियता बढाएको बुझिएको छ।
बैठकले भूमि व्यवस्थापन र भूमिसम्बन्धी जटिल प्रश्नमा अध्ययन तथा अभियान सञ्चालन गर्न “भूमि व्यवस्था विशेष अभियान उपसमिति” गठन गर्दै यसको संयोजकमा डा. गोपाल दहितलाई जिम्मेवारी दिएको छ। त्यस्तै प्राकृतिक विपद्का घटनाहरू बढ्दै गएको सन्दर्भमा “विपद् व्यवस्थापन उपसमिति” गठन गरी मानबहादुर थापालाई संयोजक तोकिएको छ।
मानसिक स्वास्थ्यलाई सामाजिक र राजनीतिक बहसको मुख्य विषय बनाउने उद्देश्यसहित “मानसिक स्वास्थ्य सचेतना अभियान उपसमिति” गठन गरिएको छ। यसको नेतृत्व मोहना अन्सारीले गर्नेछिन्। पछिल्लो समय युवामाझ मानसिक तनाव, डिप्रेसन तथा आत्महत्याका घटनामा वृद्धि भइरहेका बेला कांग्रेसले यस विषयलाई प्राथमिकतामा राखेको देखिएको छ।
सूचना प्रविधि र सुशासनलाई जोड दिँदै “सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति” को संयोजकमा इन्जिनियर दीपेश विष्टलाई जिम्मेवारी दिइएको छ। यो उपसमितिले डिजिटल प्रशासन, प्रविधिमैत्री सार्वजनिक सेवा तथा साइबर सचेतनासम्बन्धी नीतिगत सुझाव तयार पार्ने अपेक्षा गरिएको छ।
यसैगरी, निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बहस चलिरहेका बेला “निर्वाचन प्रणाली सुधार उपसमिति” गठन गरी जनक चटौतलाई संयोजक बनाइएको छ। मिश्रित निर्वाचन प्रणाली, समानुपातिक प्रतिनिधित्व, दलभित्रको लोकतन्त्र तथा निर्वाचन खर्च नियन्त्रणजस्ता विषयमा अध्ययन गर्ने जिम्मेवारी उपसमितिलाई दिइएको बताइएको छ।
पूर्वाधार विकाससम्बन्धी दीर्घकालीन अवधारणा तयार पार्न “पूर्वाधार विकास अवधारणा उपसमिति” गठन गरी इन्जिनियर अमृत ज्ञवालीलाई संयोजक बनाइएको छ। त्यस्तै, युवालाई स्वरोजगार र नवप्रवर्तनसँग जोड्ने उद्देश्यले “उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति” गठन गरी खगेन्द्र आचार्यलाई नेतृत्व दिइएको छ।
शिक्षा क्षेत्रको नीतिगत सुधार र विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि “शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमिति” गठन गरिएको छ। यसको संयोजकमा डा. कृष्णप्रसाद पौडेल चयन भएका छन्।
प्रतिष्ठानले पार्टीको वैचारिक विरासत संरक्षण र अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले “बीपी ज्ञान केन्द्र उपसमिति” गठन गरी प्रकाश लामिछानेलाई संयोजक तोकेको छ। आगलागीबाट क्षति पुगेको पार्टी केन्द्रीय पुस्तकालयलाई पुनर्संरचना गरी “बीपी विचार स्कुल”का रूपमा विकास गर्ने लक्ष्य उपसमितिले अघि सारेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसलाई कांग्रेसको वैचारिक प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको बुझिएको छ।
सामाजिक न्याय र समावेशीकरणलाई केन्द्रमा राख्दै “जातीय विभेदविरुद्ध सचेतना अभियान उपसमिति” गठन गरिएको छ। यसको संयोजकमा एलिजा ढकाललाई जिम्मेवारी दिइएको छ। त्यस्तै सामाजिक सञ्जालमा फैलिने भ्रम, दुष्प्रचार तथा गलत सूचनाविरुद्ध काम गर्न “डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति” गठन गरी प्रकृति भट्टराईलाई संयोजक बनाइएको छ।
वातावरण, जलवायु परिवर्तन र हरित नीतिका विषयमा काम गर्न “ग्रीन टेबल उपसमिति” गठन गरिएको छ। यसको संयोजकमा कञ्चन झा तोकिएका छन्। पछिल्लो समय वातावरणीय संकट र जलवायु परिवर्तनका मुद्दा विश्वव्यापी बहसको विषय बनेका बेला कांग्रेसले पनि हरित नीति केन्द्रित बहस अघि बढाउने संकेत दिएको छ।
बैठकले सबै उपसमितिलाई आगामी बैठकमा आफ्नो प्रारम्भिक कार्ययोजना, अवधारणा पत्र तथा अभियानको खाका प्रस्तुत गर्न निर्देशन दिएको छ। प्रतिष्ठानले उपसमितिहरूलाई केवल औपचारिक संरचनामा सीमित नराखी प्रत्यक्ष नीति निर्माण र जनस्तरसम्म पुग्ने अभियान सञ्चालन गर्न जोड दिएको जनाएको छ।
यसैबीच, प्रतिष्ठानको आन्तरिक कार्यप्रणालीलाई व्यवस्थित गर्न आचारसंहिता निर्माण गर्ने निर्णयसमेत गरिएको छ। प्रतिष्ठानका उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
राजनीतिक विश्लेषकहरूले कांग्रेसले गठन गरेका यी उपसमितिलाई पार्टीभित्र वैचारिक पुनर्जागरणको प्रयासका रूपमा व्याख्या गरेका छन्। लामो समयदेखि सत्ता समीकरण र आन्तरिक गुटबन्दीमा केन्द्रित हुँदै आएको कांग्रेसले अब नीति, अनुसन्धान र प्रशिक्षणमार्फत संगठनलाई नयाँ दिशातर्फ लैजान खोजेको संकेत यस कदमले दिएको विश्लेषण गरिएको छ।