साँखु, काठमाडौँ।
शंखरापुर नगरपालिकाले स्थानीय संस्कृति संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकता दिँदै वडा नं. ९ सानोगाउँमा मनाइने श्री गणेश, इन्द्रायणी तथा ब्रह्मायणी मूल जात्राको अवसरमा एक दिन सार्वजनिक बिदा घोषणा गरेको छ। नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार आगामी वैशाख ४ गते शुक्रबार नगरभित्र सार्वजनिक बिदा दिइने भएको हो।
नगरपालिकाद्वारा जारी सूचनामा उक्त दिन अत्यावश्यक सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थासहित सबै आन्तरिक कार्यालयहरू बन्द रहने उल्लेख गरिएको छ। सेवाग्राहीलाई आवश्यक कामकाज पूर्वतयारीसहित मिलाउन अनुरोध गरिएको छ।
यसैबीच, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री श्री श्री इन्द्रायणी, ब्रह्मायणी तथा गणेशको मूल जात्रा आजबाट साँखु इन्द्रेणीमा विधिवत् सुरु हुने भएको छ। स्थानीय भाषामा “इन्द्रेणी जात्रा” नामले परिचित यो जात्रा बैशाख कृष्ण चतुर्दशीदेखि प्रारम्भ भई अक्षय तृतियासम्म पाँच दिनसम्म मनाइनेछ।
जात्राको विशेष आकर्षणका रूपमा औंसीका दिन मनाइने ‘मु: जात्रा’ अर्थात् सिन्दुरे जात्राले भक्तजनमा विशेष उत्साह थप्ने गर्दछ। परम्परागत बाजागाजा, देवी–देवताको रथयात्रा तथा सांस्कृतिक झाँकीसहित मनाइने यो जात्राले साँखु इन्द्रेणीको मौलिक पहिचान झल्काउने विश्वास गरिएको छ।
वडा नं. ९ का अध्यक्ष सहदेव श्रेष्ठले शुक्रबार बैशाख ४ गतेका दिन सम्पूर्ण भक्तजनलाई जात्रा अवलोकन तथा सहभागिताका लागि हार्दिक निमन्त्रणा दिएका छन्। उनले स्थानीय संस्कृतिको संरक्षणमा सबैको साथ र सहभागिता अपरिहार्य रहेको उल्लेख गरे।
स्थानीयवासीका अनुसार, पुस्तौंदेखि निरन्तर चलिआएको यो जात्रा साँखुको धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानको महत्वपूर्ण धरोहरका रूपमा स्थापित छ। नगरपालिकाको बिदा घोषणाले यस परम्परालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।