शंखरापुर, काठमाडौँ ।
'रक्तदान नै जीवनदान हो' भन्ने मानवीय भावनालाई आत्मसात् गर्दै शंखरापुर नगरपालिकाको वडा नं. ७ साँखुस्थित ऐतिहासिक ज्योतिलिङ्गेश्वर मन्दिर प्राङ्गणमा बिहीबार वृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। साझा पाईला नेपालको आयोजना, पटाप हेल्थ केयरको व्यवस्थापन तथा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमबाट ७९ युनिट रगत संकलन गरिएको हो।
बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा स्थानीयवासी, युवा, महिला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। विशेषगरी वर्षायाममा डेंगु लगायतका संक्रमणका कारण रगतको माग बढ्ने तर रक्तदान कार्यक्रम कम हुने अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको यो अभियानले राजधानीका अस्पताल तथा केन्द्रीय ब्लड बैंकमा देखिएको रगत अभाव न्यूनीकरणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित तथा विशिष्ट अतिथि नगर उपप्रमुख समिता श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख समिता श्रेष्ठले स्वयं रक्तदान गर्दै सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता प्रस्तुत गर्नुभयो। उहाँको यो कदमले जनप्रतिनिधिहरू पनि सामाजिक अभियानमा अग्रसर रहेको सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
आयोजक संस्था साझा पाईला नेपालका अध्यक्ष नमराज तामाङका अनुसार कार्यक्रममा सहभागी ७९ रक्तदातामध्ये ४६ जना पहिलोपटक रक्तदान गर्ने नयाँ रक्तदाता रहेका छन् भने १५ जना महिला रक्तदाताको सहभागिता रहेको थियो। नयाँ पुस्ताको उत्साहजनक सहभागिताले भविष्यमा नियमित रक्तदाता उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
पहिलोपटक १८ वर्षको उमेरमा रक्तदान गरेकी स्थानीय युवती प्रतिमा थिं तामाङले अरूको जीवन बचाउन सकिने सोचले रक्तदान गरेको बताउँदै पहिलो अनुभव अत्यन्तै सुखद र प्रेरणादायी रहेको प्रतिक्रिया दिइन्।
त्यसैगरी शंखरापुर–८ का नियमित रक्तदाता हरिचन्द्र थापाले आफूले पटक–पटक रक्तदान गर्दै आएको उल्लेख गर्दै रक्तदानले अरूको जीवन बचाउनुका साथै आफ्नै स्वास्थ्यका लागि पनि सकारात्मक प्रभाव पार्ने भएकाले सबैलाई नियमित रक्तदान गर्न आग्रह गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक टोलीले संकलित ७९ युनिट रगत सुरक्षित रूपमा केन्द्रीय ब्लड बैंकमा लगेको जनाएको छ। टोलीका अनुसार आवश्यक परीक्षणपछि उक्त रगत दुर्घटनाका घाइते, सुत्केरी महिला, डेंगुका बिरामी तथा शल्यक्रियाका लागि रगत आवश्यक पर्ने बिरामीहरूको उपचारमा प्रयोग गरिनेछ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि साझा पाईला नेपालका अध्यक्ष नमराज तामाङले प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्पूर्ण अतिथिहरू, सहयोगी संस्था, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले विशेषगरी जीवन बचाउने महान् अभियानमा सहभागी भई रक्तदान गर्ने ७९ जना रक्तदाताप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूको योगदान समाजका लागि प्रेरणादायी र अनुकरणीय रहेको उल्लेख गर्नुभयो।
मानवीय सेवाको उत्कृष्ट उदाहरण बनेको यस रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व, जनसहभागिता र सहकार्यको सशक्त सन्देश दिएको छ। स्थानीय तह, सामाजिक संस्था र स्वास्थ्य क्षेत्रबीचको समन्वयबाट सम्पन्न यस्तो अभियानले भविष्यमा पनि रक्त अभाव न्यूनीकरणका साथै जीवनरक्षाको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।