शंखरापुर, काठमाण्डौं । शंखरापुर नगरपालिका–४ अन्तर्गत लप्से बस्ती क्षेत्रमा पर्ने मेलम्ची–साँखु सडकखण्डमा मंगलवार बिहान १०:३० बजेतिर यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। पछिल्ला दिनमा यस सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएकाले स्थानीयवासीमा थप त्रास र चिन्ता बढेको छ।
प्रहरीका अनुसार २०८३ साल जेष्ठ १२ गते मंगलवार बिहान करिब १०ः३० बजे जहरसिं पौवाबाट साँखुतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ९५७१ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट गइरहेको बा ८७ प ६९५५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। दुर्घटनालगत्तै स्थानीयवासीहरुको सहयोगमा घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१ काउले स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–३ बस्दै आएका ४५ वर्षीय प्रसाद राउत गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ भने घटनापछि बोल्न नसक्ने अवस्थामा रहेका थिए।
घाइते राउतको हाल सलम्बुटारस्थित People’s Life Care Hospital मा उपचार भइरहेको छ। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी भइरहेको बताएका छन्।
दुर्घटनापछि बस चालकलाई प्रहरी प्रभाग साँखुले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा तीव्र गति, साँघुरो सडक, सावधानीविहीन सवारी सञ्चालन तथा कमजोर ट्राफिक व्यवस्थापन दुर्घटनाका सम्भावित कारणका रूपमा देखिएको भए पनि विस्तृत अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।
यसैबीच, मेलम्ची–साँखु सडकखण्डमा पछिल्ला समय लगातारजसो दुर्घटना हुन थालेपछि स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। दिनहुँजसो सवारी दुर्घटना भइरहेका कारण समयमै प्रभावकारी सुरक्षा उपाय अवलम्बन नगरिए मानवीय क्षति अझ भयावह बन्न सक्ने उनीहरूको चेतावनी छ।
स्थानीयवासीका अनुसार सडक साँघुरो हुनु, अव्यवस्थित पार्किङ, पर्याप्त ट्राफिक निगरानीको अभाव, तीव्र गति तथा ट्राफिक नियमणको कमजोर पालना दुर्घटनाको मुख्य कारण बन्दै गएको छ। विशेषगरी बस्ती क्षेत्रमै सवारी साधन तीव्र गतिमा सञ्चालन हुँदा सर्वसाधारण, विद्यार्थी तथा पैदलयात्री उच्च जोखिममा परेको गुनासो उनीहरूको छ।
स्थानीय बासिन्दाले शंखरापुर नगरपालिका, ट्राफिक प्रहरी, जनप्रतिनिधि तथा सम्बन्धित निकायले संयुक्त रूपमा तत्काल सडक सुरक्षा योजना लागू गर्नुपर्ने माग गरेका छन्। जोखिमयुक्त क्षेत्रमा गति नियन्त्रण, संकेतचिन्ह, सडक बत्ती, सिसिटिभी तथा नियमित ट्राफिक निगरानी बढाउनुपर्ने आवश्यकता उनीहरूले औँल्याएका छन्।
त्यसैगरी विद्यालय, टोल तथा समुदायस्तरमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी चालक र सर्वसाधारणलाई जिम्मेवार तथा सुरक्षित सवारी प्रयोगतर्फ अभिप्रेरित गर्नुपर्ने मागसमेत उठिरहेको छ।
स्थानीयवासीले “दुर्घटना भएपछि मात्रै सक्रिय हुने होइन, दुर्घटना हुन नदिन पूर्वतयारी आवश्यक छ” भन्दै सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।