शंखरापुर, काठमाडौं — श्रावण महिनामा आयोजना हुने ‘बोल बम’ यात्रालाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शंखरापुर नगर कार्यसमितिले शनिबार ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको सलम्बुदेवी मन्दिर परिसरमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ।
धार्मिक सम्पदाको संरक्षण, वातावरणीय स्वच्छताको प्रवर्द्धन तथा दर्शनार्थीलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले आयोजित अभियान राप्रपा शंखरापुरको संगठन विभागको व्यवस्थापनमा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका आर्थिक परिचालन विभागका संयोजक तथा शंखरापुर–७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, संगठन परिचालन विभागका संयोजक राधाकृष्ण श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, समाजसेवी तथा स्थानीयवासीसहित करिब ५० देखि ६० जनाको सक्रिय सहभागिता रहेको थियो।
अभियानका क्रममा मन्दिर परिसर, प्रवेशमार्ग तथा आसपासका क्षेत्रबाट करिब १५० गाढाभन्दा बढी फोहोर सङ्कलन गरी उचित व्यवस्थापन गरिएको आयोजकले जनाएको छ। विशेषगरी श्रावण महिनामा भक्तजनको चाप बढ्ने भएकाले धार्मिक क्षेत्रलाई सफा, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा बोल्दै वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ र वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले सलम्बुदेवी मन्दिर परिसरमा विगतदेखि सञ्चालन हुँदै आएको सरसफाइ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको बताउनुभयो। उहाँहरूले आइतबार हुने ‘बोल बम’ यात्रामा सहभागी काँवरिया भक्तजनलाई स्वच्छ, सुरक्षित र मर्यादित वातावरण उपलब्ध गराउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उल्लेख गर्नुभयो।
स्थानीय समाजसेवी तथा नेता मिजेन्द्र काजी श्रेष्ठले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सामुदायिक सहभागिता अपरिहार्य रहेको बताउँदै यस्ता अभियानले वातावरणीय सचेतना अभिवृद्धिसँगै स्थानीयमा सामाजिक उत्तरदायित्वको भावना समेत सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँले अभियानमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
बिहानदेखि सञ्चालन भएको अभियान सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। सहभागीहरूले धार्मिक स्थलको संरक्षण, स्वच्छ वातावरण निर्माण र सामुदायिक सहकार्यलाई सुदृढ बनाउन यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। राप्रपा शंखरापुरले आगामी दिनमा पनि धार्मिक, सांस्कृतिक तथा सार्वजनिक स्थलहरूको संरक्षण र सरसफाइसम्बन्धी सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।