कागेश्वरी मनोहरा–ह्यारिसनभिल सहरबीच मैत्री आदान–प्रदान, शिक्षा र विकासमा सहकार्य गर्ने सहमति

lawanyasandesh.com

साँखु, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले अमेरिकाको ह्यारिसनभिल सहरसँग “फ्रेन्डसिप एक्सचेन्ज एन्ड एजुकेशनल कोलाबोरेसन” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा ह्यारिसनभिल सहरका मेयर माइक जारिङ, समिट टेक्नोलोजी एकेडेमीका निर्देशक तथा दुवै पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा कागेश्वरी मनोहरा नगरपालिका र ह्यारिसनभिल सहरबीच ‘फ्रेन्डसिप सिटी एक्सचेन्ज’ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। उक्त समझदारीपत्रमा कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट नगर प्रमुख र ह्यारिसनभिल सहरका मेयर माइक जारिङले हस्ताक्षर गर्नुभएको हो। यससँगै दुई सहरबीच औपचारिक रूपमा मैत्री सम्बन्ध स्थापना भएको छ।



सम्झौता अनुसार शिक्षा, स्वास्थ्य, सामाजिक विकास, प्रविधि हस्तान्तरण तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ। विशेषगरी विद्यार्थी तथा शिक्षक आदान–प्रदान, सीपमूलक शिक्षा, आधुनिक प्रविधिको प्रयोग, स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरण, युवा तथा महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने विषयमा प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ।



कार्यक्रममा बोल्दै ह्यारिसनभिल सहरका मेयर जारिङले दुई सहरबीचको सहकार्यले शिक्षा र प्रविधि क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहबीच प्रत्यक्ष सहकार्यले नागरिकस्तरमा लाभ पुग्ने बताउँदै दीर्घकालीन साझेदारीको प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी नगरपालिकाका प्रतिनिधिहरूले यो समझदारीले कागेश्वरी मनोहरा नगरपालिकाको शैक्षिक सुधार, स्वास्थ्य सेवा विस्तार र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्थानीय स्तरमा नयाँ अभ्यास भित्र्याउन, अनुभव आदान–प्रदान गर्न तथा विकासका कार्यक्रमलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा दुवै पक्षबीच भावी योजनाबारे छलफल समेत गरिएको थियो। संयुक्त रूपमा शैक्षिक भ्रमण, प्रशिक्षण कार्यक्रम, डिजिटल शिक्षा प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको जनाइएको छ।



नगरपालिकाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सरोकारवाला निकाय, शैक्षिक संस्थाहरू, प्रतिनिधिहरू तथा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ। साथै, यो सहकार्यले दीर्घकालीन रूपमा दुई सहरबीच मित्रता, आपसी सिकाइ र विकास साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया