शंखरापुर, काठमाडौं — नेपालका प्रमुख सुरुङ तथा जलविद्युत् आयोजनामा भूगर्भविद्का रूपमा लामो समय काम गर्नुभएका नेपाली कांग्रेस क्षेत्रीय सभापति कविर शर्माले नेपालको जटिल भौगर्भिक अवस्थालाई चुनौतीका रूपमा लिनुपर्ने तर त्यसलाई उद्धार नै असम्भव हुने कारणका रूपमा व्याख्या गर्न नहुने बताउनुभएको छ।
मेलम्ची खानेपानी, दोर्दी र चमेलिया जलविद्युत् आयोजनाका सुरुङ निर्माणका क्रममा सुरुङभित्रै बसेर काम गरेको अनुभवका आधारमा शर्माले लेदो, पानी र गेग्रानले पुरिएको सुरुङमा उद्धारका लागि संसारमै प्रविधि नभएको भन्ने धारणा प्राविधिक रूपमा सही नभएको बताउनुभएको हो।
प्रस्तुत छ, शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :
प्रश्न : तपाईंले लामो समय सुरुङ आयोजनामा काम गर्नुभएको छ। नेपालको भौगर्भिक अवस्था कस्तो पाउनुभयो?
शर्मा : नेपालको हिमालयन भूबनोट कलिलो, सक्रिय र अत्यन्त जटिल छ। सुरुङ निर्माणका क्रममा कमजोर भू–संरचना, क्याभिटी, पानीको उच्च चाप, लेदो तथा गेग्रानजस्ता चुनौती बारम्बार आउन सक्छन्। मेलम्ची, चमेलिया र दोर्दीका सुरुङमा काम गर्दा हामीले यस्ता जोखिम प्रत्यक्ष रूपमा देखेका र व्यवस्थापन गरेका छौँ।
त्यसैले नेपालको भूगर्भिक अवस्था चुनौतीपूर्ण छ भन्नेमा कुनै द्विविधा छैन। तर चुनौतीपूर्ण हुनु र समाधान नै नहुनु दुई फरक कुरा हुन्।
प्रश्न : प्रधानमन्त्रीले संसद्मा ‘यस्तो लेदो र सुरुङभित्र पसेर उद्धार गर्न सक्ने प्रविधि वा मेसिन संसारमै छैन’ भन्नुभएको छ। तपाईंको धारणा के छ?
शर्मा : एक प्राविधिक तथा भूगर्भविद्का रूपमा मैले अनुभव गरेको र जानेको आधारमा भन्नुपर्दा यस्तो निष्कर्ष प्राविधिक सत्यमा आधारित छैन।
प्रधानमन्त्री स्वयं प्राविधिक इन्जिनियर भएकाले यस्तो अभिव्यक्ति सुन्दा मलाई झन् आश्चर्य लागेको हो। संसारमा सबै अवस्थाका लागि एउटै मेसिन हुँदैन। भूगर्भिक अवस्था हेरेर प्रविधि छनोट गरिन्छ।
मुख्य प्रश्न ‘संसारमा प्रविधि छ कि छैन?’ भन्ने होइन। मुख्य प्रश्न हाम्रो अवस्थाका लागि कुन प्रविधि उपयुक्त हुन्छ, त्यसलाई कसरी सुरक्षित रूपमा परिचालन गर्न सकिन्छ र हामीसँग आवश्यक उपकरण तथा जनशक्ति कति छ भन्ने हो।
प्रश्न : सुरुङभित्र लेदो, पानी र गेग्रान पसेको अवस्थामा प्राविधिक रूपमा के गर्न सकिन्छ?
शर्मा : पहिलो कुरा हतारमा उपकरण पठाउने होइन। सुरुङको वास्तविक अवस्था बुझ्नुपर्छ। लेदोको मात्रा, पानीको बहाव, सुरुङको स्थायित्व, सम्भावित खाली ठाउँ तथा एयर पकेटको अवस्था पत्ता लगाउनुपर्छ।
भूगर्भिक अध्ययन गरेर रक मास रेटिङ (RMR) लगायतका विधिबाट अवस्थाको मूल्याङ्कन गर्न सकिन्छ। त्यसपछि आवश्यक सपोर्ट सिस्टम डिजाइन गरी सुरक्षित रूपमा उद्धार वा अवरोध हटाउने योजना बनाउनुपर्छ।
प्रश्न : कमजोर भूभागलाई कसरी स्थिर बनाउन सकिन्छ?
शर्मा : ग्राउटिङ तथा ग्राउन्ड स्टेबिलाइजेसन एउटा विकल्प हो। कमजोर तथा बग्ने लेदोयुक्त भूभागमा उच्च चापमा सिमेन्ट वा आवश्यकताअनुसार उपयुक्त ग्राउटिङ सामग्री पठाएर भूभागलाई स्थिर बनाउने प्रयास गर्न सकिन्छ।
यसको उद्देश्य थप भू–क्षति रोक्नु र लेदो तथा पानीको प्रवाह नियन्त्रण गर्नु हो।
त्यस्तै, अत्यन्त कमजोर भूभागमा फोरपोलिङ वा अम्ब्रेला आर्च प्रविधि प्रयोग गर्न सकिन्छ। स्टिल पाइप वा फोरपोल प्रयोग गरेर सुरुङको अगाडिको भागलाई अस्थायी रूपमा सुरक्षित बनाइन्छ र त्यसको कभरभित्रबाट क्रमशः अवरोध हटाउँदै अगाडि बढ्न सकिन्छ।
प्रश्न : डोजर वा एक्साभेटर छिर्न नसक्ने अवस्था आएमा के विकल्प हुन्छ?
शर्मा : त्यस्तो अवस्थामा सामान्य भारी उपकरण मात्र विकल्प होइनन्। अगर ड्रिलिङ, स्लरी वा मड पम्प तथा रिमोट एक्स्काभेसन उपकरणको सम्भाव्यता अध्ययन गर्न सकिन्छ।
पोर्टल नजिकैबाट लेदो र पानी सुरुङभित्र प्रवेश गरेको हो भने पहिले पोर्टलको वास्तविक स्थान र अवस्थाको सर्वेक्षण गर्नुपर्छ। त्यसपछि अस्थिर भूभाग तथा आवश्यक अवरोध सुरक्षित रूपमा हटाएर उपयुक्त रिमोट उपकरण सुरुङभित्र प्रवेश गराउन सकिन्छ कि सकिँदैन भन्ने अध्ययन गर्नुपर्छ।
तर यस्तो काम भूगर्भविद्, जियोटेक्निकल तथा संरचनात्मक विज्ञको प्रत्यक्ष मूल्याङ्कनबिना गर्नु हुँदैन। उद्धारकर्मीको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ।
प्रश्न : लेदो वा भग्नावशेषभित्र मानिस जीवित रहेको सम्भावना कसरी पत्ता लगाउन सकिन्छ?
शर्मा : अवस्थाअनुसार बोरहोल क्यामेरा, ध्वनिक तथा भूकम्पीय निगरानी, थर्मल इमेजिङ र ग्राउन्ड पेनेट्रेटिङ राडार (GPR) जस्ता प्रविधि प्रयोग गर्न सकिन्छ।
तर कुन प्रविधि प्रभावकारी हुन्छ भन्ने कुरा लेदोको मोटाइ, पानीको अवस्था, भूगर्भिक संरचना र उपकरण पुर्याउन सकिने पहुँचमा निर्भर गर्छ।
प्रश्न : विश्वमा यस्ता जटिल उद्धारका उदाहरण छन्?
शर्मा : छन्। भारतको सिल्क्यारा सुरुङ, चिलीको कोपियापो खानी र थाइल्यान्डको थाम लुआङ गुफामा भएका उद्धार घटनाले अत्यन्त जटिल भूमिगत अवस्थामा पनि प्रविधि, विशेषज्ञता र चरणबद्ध रणनीतिको प्रयोगबाट उद्धार सम्भव हुन्छ भन्ने देखाएका छन्।
त्यसैले ‘संसारमा प्रविधि नै छैन’ भन्ने प्रश्न होइन। प्रश्न हो– हाम्रो अवस्थाका लागि सही प्रविधि कुन हो र त्यसलाई सुरक्षित रूपमा कसरी प्रयोग गर्ने?
प्रश्न : त्यसो भए नेपालको मुख्य कमजोरी कहाँ छ?
शर्मा : हाम्रो कमजोरी प्रविधि मात्र होइन, पूर्वतयारी पनि हो। हामीले पूर्वाधार निर्माणलाई सहज र सस्तो बनाउने प्रयास गर्यौँ। तर त्यसलाई सुरक्षित, दिगो र दीर्घकालीन रूपमा सञ्चालन गर्न सक्ने बनाउन आवश्यक जोखिम व्यवस्थापनमा अपेक्षाकृत कम ध्यान दिएका छौँ।
हिमालयको यस्तो संवेदनशील भूभागमा पूर्वाधार निर्माणसँगै भौगर्भिक जोखिमको अध्ययन, पूर्वसूचना प्रणाली, उद्धार उपकरण र दक्ष जनशक्ति अनिवार्य हुनुपर्छ।
प्रश्न : अहिलेको घटनाबाट सरकारले के सिक्नुपर्छ?
शर्मा : सबैभन्दा पहिले दोषी खोज्नुभन्दा कारण खोज्नुपर्छ।
कहाँ कमजोरी भयो? पूर्वतयारी कहाँ भएन? जोखिमको पूर्वानुमान किन प्रभावकारी हुन सकेन? आवश्यक उपकरण किन समयमै परिचालन हुन सकेन? हाम्रो आपत्कालीन उद्धार प्रणाली कहाँ कमजोर रह्यो? यी प्रश्नको वैज्ञानिक र वस्तुपरक अध्ययन हुनुपर्छ।
कारण पहिचान भएपछि समाधान खोज्नुपर्छ र त्यो समाधानलाई संस्थागत गर्नुपर्छ।
प्रश्न : नेपालजस्तो देशले यस्ता जोखिम सामना गर्न दीर्घकालीन रूपमा के गर्नुपर्छ?
शर्मा : हामीले अत्याधुनिक उद्धार उपकरण, विशेषज्ञ जनशक्ति र आपत्कालीन प्रतिक्रिया प्रणालीमा लगानी गर्नुपर्छ।
हिमालय तथा हिन्दुकुश–हिमालय क्षेत्रका नेपाल, भारत, भुटान, चीन र पाकिस्तानलगायत राष्ट्रबीच पनि सहकार्य आवश्यक छ। साझा भूगर्भिक अध्ययन, पूर्वसूचना प्रणाली, विशेषज्ञ जनशक्ति, अत्याधुनिक उद्धार उपकरणको साझा प्रयोग तथा संयुक्त विपद् तयारीको संयन्त्र विकास गर्न सकिन्छ।
नेपालले यस विषयमा क्षेत्रीय नेतृत्वसमेत लिन सक्छ।
प्रश्न : अन्त्यमा, तपाईंको मुख्य सन्देश के हो?
शर्मा : हामी हिमालयको अत्यन्त जटिल भूगर्भिक क्षेत्रमा बस्छौँ। त्यसैले जोखिम ठूलो छ। तर जोखिम ठूलो हुँदैमा समाधान असम्भव हुँदैन।
समस्या आएपछि ‘असम्भव’ भन्ने होइन, समाधान खोज्नुपर्छ। विपत्ति आएपछि दोषारोपण गर्ने होइन, कारण बुझ्नुपर्छ। आजको कमजोरीलाई भोलिको तयारीमा बदल्नुपर्छ।
जटिल समस्या आएपछि बुद्धिमान नेतृत्वले समस्याको कारण खोज्छ, समाधान खोज्छ र भविष्यमा त्यही घटना दोहोरिन नदिन प्रणाली निर्माण गर्छ। यही जिम्मेवार प्राविधिक सोच हो। यही जिम्मेवार राजनीतिक नेतृत्वको आँट पनि हुनुपर्छ।