आगामी आर्थिक वर्षका लागि जनसहभागितामूलक योजना संकलनमा जुट्यो शंखरापुर वडा नं. ७ विकासका प्राथमिकता तय गर्न वडाबासीसँग योजना प्रस्ताव माग

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं।
शंखरापुर नगरपालिका वडा नं. ७ ले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियालाई थप सहभागितामूलक, पारदर्शी र परिणाममुखी बनाउन स्थानीय बासिन्दासँग विकास योजना तथा कार्यक्रमका प्रस्ताव माग गरेको छ।

वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै वडाभित्र आवश्यक, महत्वपूर्ण तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू तोकिएको समयभित्र पेश गर्न सम्पूर्ण वडाबासी, टोल विकास संस्था, सामाजिक संघसंस्था, युवा समूह, महिला समूह तथा सरोकारवालालाई आग्रह गरेको हो।

विकास निर्माणका योजना माथिबाट थोपर्ने परम्परालाई अन्त्य गर्दै स्थानीय आवश्यकताका आधारमा योजना छनोट गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको वडा कार्यालयले जनाएको छ। स्थानीय जनताको प्रत्यक्ष सुझाव र सहभागिताबाट सडक, खानेपानी, ढल निकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरण संरक्षण, युवा स्वरोजगार तथा सामाजिक विकासका क्षेत्रलाई समेटेर आगामी वर्षको बजेट तथा कार्यक्रम निर्माण गरिने बताइएको छ।

योजना बुझाउने समय र स्थान
वडा कार्यालयका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम तर्जुमा प्रयोजनका लागि योजना प्रस्ताव २०८३ जेठ ५ गते मंगलबारसम्म वडा कार्यालयमा दर्ता गराउन सकिनेछ। प्रस्तावहरू शंखरापुर नगरपालिका वडा नं. ७ कार्यालय मा पेश गर्नुपर्ने जनाइएको छ।

जनसहभागिताबाट समृद्ध वडा निर्माणको लक्ष्य

वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा स्थानीय स्तरमा अत्यावश्यक र जनताले प्रत्यक्ष लाभ पाउने योजनालाई प्राथमिकतामा राखेर प्रस्ताव पेश गर्न अनुरोध गरिएको छ। साथै वडा अध्यक्ष श्रेष्ठले सम्पूर्ण वडावासीसमक्ष यो सूचना व्यापक रूपमा खबर सम्प्रेषण गरिदिन तथा सबैलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको बताइएको छ।

उहाँले वडाको विकास जनताको सहभागिताबिना सम्भव नहुने उल्लेख गर्दै प्रत्येक टोल, समुदाय र नागरिकबाट आएका सुझावले आगामी वर्षको योजना निर्माणमा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।

शंखरापुर वडा नं. ७ ले आगामी वर्षका कार्यक्रम जनचाहना अनुरूप बनाउने संकेत दिएको यो कदमलाई स्थानीय विकासको नयाँ अभ्यासका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया