कीर्तिपुर हत्या प्रकरणका आरोपी नियन्त्रणमा लिने क्रममा चोभारमा प्रहरीको गोली, एक जना घाइते

lawanyasandesh.com

साँखु,काठमाण्डौं ।

राजधानी काठमाण्डौंको चोभार क्षेत्रमा गोली चलेको छ। केही दिनअघि भएको कीर्तिपुर हत्या प्रकरणका आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो।

घटना उपत्यका अपराध अनुसन्धान कार्यालय ले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा भएको हो। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार गोली लागेर सुजन शाही घाइते भएका छन्। उनलाई नियन्त्रणमा लिएर तत्कालै उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शाही केही दिनअघि भएको कीर्तिपुर को हत्या प्रकरणका मुख्य आरोपीमध्ये एक हुन्। सो घटनामा कीर्तिपुर नगरपालिका–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको थियो।

घिमिरेमाथि धारिलो हतियार प्रहार भएपछि उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनामा तीन जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज चोभार क्षेत्रमा आरोपीलाई नियन्त्रणमा लिने क्रममा उनले भाग्ने प्रयास वा प्रतिकार गरेको अवस्थाका कारण गोली चलाउनुपरेको हो। घटनापछि क्षेत्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले घटनाबारे विस्तृत विवरण तथा अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया