काङ्ग्रेसमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति सक्रिय, चार–चार महिनामा कार्यसम्पादन समीक्षा गरिने

lawanyasandesh.com

शंखरापुर(साँखु), काठमाण्डौं। नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहणसँगै पार्टीको भावी कार्यदिशा, संगठनात्मक जिम्मेवारी र कार्यसम्पादनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउने, परम्परागत चियापान कार्यक्रम स्थगित गर्ने, केन्द्रीय सदस्यहरूको रुचि र दक्षताका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने तथा चार–चार महिनामा कार्यसम्पादन समीक्षा गर्ने निर्णय गरेको हो।


ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। शपथग्रहणपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीहरूको वरीयताक्रम निर्धारण गर्नुका साथै पार्टीका आगामी कार्यक्रम र संगठनात्मक व्यवस्थापनसम्बन्धी निर्णय गरेको जनाइएको छ।


नवनिर्वाचित सहमहामन्त्री प्रतिमा गौतमका अनुसार बैठकले पार्टीलाई नतिजामुखी, व्यवस्थित र जनउत्तरदायी बनाउने उद्देश्यले विभिन्न निर्णय गरेको छ। मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट उत्पन्न विपद्लाई ध्यानमा राख्दै यस वर्ष केन्द्रदेखि जिल्ला तहसम्म परम्परागत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगरी राहत र सामाजिक सेवाका काममा जुट्ने निर्णय गरिएको छ।


सभापति गगनकुमार थापाले चाडपर्वका अवसरमा औपचारिक कार्यक्रम गरेर खर्च गर्नुको सट्टा जनताको दुःखमा साथ दिन र सामाजिक उत्तरदायित्वका कामलाई प्राथमिकता दिन पार्टीका तल्ला तहका समितिलाई निर्देशन दिनुभएको बैठकमा जानकारी गराइएको छ। त्यसअनुसार मन्दिर तथा सार्वजनिक स्थलको सरसफाइ, राहत कोष स्थापना, बाढीपीडितका लागि राहत सङ्कलन र वितरणलगायतका रचनात्मक गतिविधि सञ्चालन गरिनेछ।


बैठकले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँटलाई व्यवस्थित बनाउन उनीहरूको रुचि, अनुभव र दक्षताका आधारमा कार्यक्षेत्र निर्धारण गर्ने निर्णयसमेत गरेको छ। यसका लागि सबै केन्द्रीय सदस्यलाई फाराम उपलब्ध गराइनेछ। सदस्यहरूले शिक्षा, प्रशिक्षण, निर्वाचनलगायत पार्टीका विभिन्न कार्यक्षेत्रमध्ये आफूले काम गर्न चाहेका कम्तीमा चारवटा क्षेत्र प्राथमिकताका आधारमा उल्लेख गर्नुपर्नेछ। सोही विवरणका आधारमा जिम्मेवारी तोकिने व्यवस्था गरिनेछ।


त्यसैगरी, केन्द्रीय सदस्यहरूको कार्यसम्पादनलाई नियमित र परिणाममुखी बनाउन प्रत्येक चार–चार महिनामा कार्ययोजना तथा कामको प्रगति समीक्षा गरिने निर्णय भएको छ। तिहारपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सबै सदस्यले आ–आफ्नो कार्ययोजनासहित उपस्थित हुनुपर्नेछ। यस व्यवस्थाले जिम्मेवारीअनुसार कामको मूल्याङ्कन गर्न र पार्टीका गतिविधिलाई योजनाबद्ध रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


बैठकले १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने केन्द्रीय निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी, शुभेच्छुक तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेको छ। केन्द्रीय कार्यसमितिको अर्को बैठक तिहारपछि बस्ने जानकारी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले दिनुभएको छ।


२० पदाधिकारीको वरीयता निर्धारण

महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये सभापति गगनकुमार थापा पहिलो वरीयतामा रहनुभएको छ। नवनिर्वाचित सहमहामन्त्री प्रतिमा गौतमका अनुसार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिला उपसभापति पुष्पा भुसाल तेस्रो वरीयतामा रहनुभएको छ।


खुलातर्फबाट उपसभापतिमा निर्वाचित डा. चन्द्रकान्त भण्डारी चौथो र मधु आचार्य पाँचौँ वरीयतामा रहनुभएको छ। समावेशीतर्फबाट उपसभापतिमा निर्वाचित विनोद चौधरी छैटौँ स्थानमा रहनुभएको छ।


महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदय शमशेर राणा नवौँ वरीयतामा रहनुभएको छ। पौडेल र राणा खुलातर्फबाट तथा डा. संग्रौला पन्त महिलातर्फबाट महामन्त्री निर्वाचित हुनुभएको हो।


सहमहामन्त्रीहरूमध्ये बहादुर सिंह लामा १०औँ, योगेन्द्र चौधरी ११औँ, प्रकाश स्नेही रसाइली १२औँ, जीवन शाही १३औँ, अजय चौरासिया १४औँ, आङ्गेलु शेर्पा १५औँ, रामहरि खतिवडा १६औँ, प्रतिमा गौतम १७औँ, अजयबाबु सिवाकोटी १८औँ, मनोज आचार्य १९औँ र डा. फिरदोश आलम २०औँ वरीयतामा रहनुभएको छ।


नयाँ नेतृत्वले राहत तथा सामाजिक सेवा, स्पष्ट जिम्मेवारी बाँडफाँट र नियमित कार्यसम्पादन समीक्षालाई प्राथमिकतामा राखेसँगै काङ्ग्रेसको आगामी संगठनात्मक गतिविधि थप व्यवस्थित बनाउने प्रयास सुरु भएको छ।

प्रतिक्रिया