काठमाडौँ उपत्यकाका ९५ कन्सल्टेन्सीमा एकैसाथ छापा, ६९ जना पक्राउ

lawanyasandesh.com

साँखु,काठमाडौँ ।

काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि प्रहरीले व्यापक अनुगमन तथा छापा अभियान सञ्चालन गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा रहेका ९५ वटा कन्सल्टेन्सीमा एकैसाथ छापा मार्दै ६९ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार वैदेशिक अध्ययनका नाममा विद्यार्थी तथा अभिभावकमाथि ठगी, नक्कली कागजात तयार पार्ने, गैरकानुनी आर्थिक कारोबार गर्ने तथा नियमविपरीत सेवा सञ्चालन भइरहेको सूचनाका आधारमा विशेष अभियान चलाइएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले पक्राउ परेकामाथि आवश्यक स्क्रिनिङ गरी थप अनुसन्धान अगाडि बढाइने जानकारी दिए । उनका अनुसार केही संस्थाबाट महत्वपूर्ण कागजात, कम्प्युटर, विद्यार्थी फाइल तथा आर्थिक कारोबारसँग सम्बन्धित विवरण समेत नियन्त्रणमा लिइएको छ ।

प्रहरी स्रोतका अनुसार केही कन्सल्टेन्सीले वैदेशिक अध्ययनका लागि गलत आश्वासन दिने, नक्कली अफर लेटर तथा बैंक स्टेटमेन्ट तयार गराउने, उच्च शुल्क असुल्ने र प्रक्रिया नै पूरा नगरी विद्यार्थीलाई विदेश पठाउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हाल पक्राउ परेकामाथि ठगी, सरकारी कागजात किर्ते, गैरकानुनी आर्थिक कारोबार तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान हुन सक्ने प्रहरीको भनाइ छ ।

पछिल्लो समय विदेश अध्ययनका नाममा हुने ठगीका घटना बढ्दै गएपछि सरकारले शैक्षिक परामर्श संस्थामाथि निगरानी कडा बनाउँदै आएको छ । शिक्षा मन्त्रालय तथा सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भएका तथा मापदण्ड विपरीत सेवा दिइरहेका संस्थालाई कारबाही गर्ने तयारी समेत भइरहेको जनाइएको छ ।

प्रहरीले विद्यार्थी र अभिभावकलाई कुनै पनि कन्सल्टेन्सीमार्फत वैदेशिक अध्ययन प्रक्रिया अघि बढाउँदा संस्थाको वैधानिकता, अनुमति पत्र, सेवा शुल्क तथा प्रक्रिया सम्बन्धी जानकारी राम्रोसँग बुझ्न आग्रह गरेको छ ।

प्रतिक्रिया