व्यवसायीलाई खाद्य स्वच्छता र कानुनी सचेतनाबारे शंखरापुरमा विशेष तालिम

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं — शंखरापुर क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारी तथा उद्यमीहरूलाई खाद्य स्वच्छता, बजार अनुगमन र व्यवसायसम्बन्धी कानुनी प्रावधानबारे सचेत गराउने उद्देश्यले आयोजित विशेष अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न भएको छ। करिब तीन घण्टा सञ्चालन भएको उक्त कार्यक्रमलाई स्थानीय व्यवसायीहरूले अत्यन्तै उपयोगी, व्यवहारिक र समयसापेक्ष भएको बताएका छन्।


कार्यक्रममा शंखरापुर व्यापार समूहका संस्थापक अध्यक्ष सिद्धि हर्ष बज्राचार्य ले यस्ता प्रकारका तालिमहरू बेलाबखत सञ्चालन भइरहे व्यवसायीहरू अझ सुसज्जित, सचेत र नयाँ–नयाँ कानुनी व्यवस्थाबारे अद्यावधिक हुँदै जाने बताउनुभयो। उहाँले बजारको बदलिँदो परिवेश, उपभोक्ताको बढ्दो सचेतना तथा सरकारी निकायको नियमित अनुगमनलाई ध्यानमा राख्दै व्यवसायीहरूले कानुनी ज्ञान र व्यावसायिक अनुशासन दुवैमा सशक्त हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।


उहाँले भन्नुभयो, “व्यवसाय सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई कानुनसम्मत, उपभोक्तामैत्री र गुणस्तरीय बनाउनु पनि उत्तिकै आवश्यक हुन्छ। यस्ता तालिमले व्यापारीहरूलाई आत्मविश्वासी बनाउनुका साथै गल्ती र कमजोरी सच्याउने अवसर प्रदान गर्दछ।”

त्यसैगरी शंखरापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सत्यनारायण श्रेष्ठ ले पछिल्लो समय बजारमा विभिन्न सरकारी निकायबाट तीव्र रूपमा अनुगमन भइरहेकाले व्यवसायीहरू कानुनी रूपमा जानकार हुनु अत्यन्त आवश्यक भएको बताउनुभयो।

उहाँले अनुगमनलाई केवल त्रासको विषयका रूपमा नभई व्यवसाय सुधार गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै भन्नुभयो, “अनुगमन हुँदा के–कस्ता कुराहरू हेरिन्छन्, व्यवसायीले आफ्ना पसल तथा सामग्रीमा के–कस्ता मापदण्ड पूरा गर्नुपर्छ, कुन कानुनले के गर्न दिने वा नदिने भन्ने विषयमा जानकारी अभाव हुँदा धेरै व्यवसायी समस्यामा पर्ने गरेका छन्। यस्ता तालिमहरूले व्यवसायीलाई शिक्षित र सचेत बनाउने भएकाले शंखरापुरमै कार्यक्रम आयोजना गरिएको हो।”

कार्यक्रममा मासु पसल, खाद्यान्न पसल, फलफूल तथा तरकारी पसल, कृषिजन्य सामग्री विक्रेता, हार्डवेयर व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले दैनिक व्यवसाय सञ्चालनका क्रममा अपनाउनुपर्ने सरसफाइ, म्याद गुज्रिएका वस्तु व्यवस्थापन, मूल्यसूची राख्ने व्यवस्था, लेबलिङ, भण्डारण, उपभोक्ता अधिकार तथा खाद्य सुरक्षा मापदण्डबारे विस्तृत जानकारी प्राप्त गरेको बताएका छन्।

विशेषगरी “अनुगमनका क्रममा सरकारी टोलीले के–कस्ता विषय जाँच गर्छ ?”, “व्यवसायीले आफ्ना सामानमा अनिवार्य रूपमा के राख्नुपर्छ ?”, “खाद्य वस्तुको गुणस्तर कसरी कायम गर्ने ?” जस्ता व्यवहारिक विषयमा खुलस्त रूपमा जानकारी दिइएकाले कार्यक्रम प्रभावकारी भएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डाक्टर ईश्वर सुवेदी ले प्रशिक्षण दिनुभएको थियो। उहाँले खाद्य स्वच्छता, उपभोक्ता सुरक्षा, खाद्य ऐन, बजार अनुगमनका आधारहरू तथा व्यवसायीले अपनाउनुपर्ने न्यूनतम मापदण्डबारे उदाहरणसहित प्रशिक्षण दिनुभएको थियो।

उहाँले उपभोक्तालाई गुणस्तरीय र सुरक्षित खाद्य सामग्री उपलब्ध गराउनु व्यवसायीहरूको सामाजिक दायित्वसमेत भएको उल्लेख गर्दै स्वच्छता र पारदर्शितामा ध्यान दिन आग्रह गर्नुभयो।

व्यवसायी कुशकुमार श्रेष्ठ ले प्रशिक्षकको प्रस्तुतिलाई व्यवसायीहरूले अत्यन्त ध्यानपूर्वक र चासोका साथ ग्रहण गरेको बताउँदै तालिमले व्यवहारिक ज्ञान बढाएको प्रतिक्रिया दिनुभयो। उहाँका अनुसार कार्यक्रममा सहभागी अधिकांश व्यवसायीहरूले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा कानुनी अभिमुखीकरण कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

स्थानीय व्यवसायीहरूमा गणेश दुलालका अनुसार पछिल्लो समय उपभोक्ता सचेतना बढ्दै गएको, सरकारी अनुगमन कडा बन्दै गएको तथा व्यवसायिक प्रतिस्पर्धा तीव्र भइरहेकाले यस्ता कार्यक्रमले व्यवसायलाई व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया