काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सुरु, ‘साझा’का विद्युतीय बस राति पनि गुड्ने

lawanyasandesh.com

साँखु,काठमाडौँ । साझा यातायात ले काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएको छ। आजदेखि सुरु गरिएको उक्त सेवा दैनिक बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने भएको छ। सेवाको उद्घाटन सुनिता डङ्गोल ले गरेकी हुन्।


काठमाडौँ महानगरपालिका का अनुसार प्रारम्भिक चरणमा दुई प्रमुख रुटमा चार बस सञ्चालनमा ल्याइएको छ भने आवश्यकता अनुसार थप बस र रुट विस्तार गरिने योजना रहेको छ। बसहरू तोकिएका स्टपहरूमा हरेक २० मिनेटको अन्तरालमा आउनेछन्। तर रातिको समयमा यात्रु संख्या कम हुने भएकाले बसहरू यात्रुको संकेत (हात उठाएर) अनुसार रोकिने व्यवस्था गरिएको छ।
महानगरपालिकाले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै सबै बसमा सिसिटिभी क्यामरा जडान गर्ने तथा नगर प्रहरी परिचालन गर्ने जनाएको छ। साथै यात्रुले ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति वास्तविक समयमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।


दुई प्रमुख रुटमा सेवा विस्तार

रात्रिकालीन बस सेवा अन्तर्गत उत्तर–दक्षिण रुटमा ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म सेवा सञ्चालन हुनेछ। यस रुटको एकतर्फी दूरी करिब १६ किलोमिटर रहेको छ।
त्यसैगरी, पूर्व–पश्चिम रुटमा थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म बस सञ्चालन गरिनेछ। यस रुटको एकतर्फी दूरी करिब २० किलोमिटर तोकिएको छ।
विद्युतीय बस र भविष्यको योजना
रात्रिकालीन सेवामा हाल सातवटा विद्युतीय बस प्रयोग गरिएको महानगरले जनाएको छ। विभिन्न स्थानीय तहको सहकार्यमा सुरु गरिएको यो सेवा आगामी दिनमा यात्रुको मागअनुसार थप विस्तार गरिने योजना रहेको छ।
रातिको समयमा पनि सुरक्षित, भरपर्दो र व्यवस्थित सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सेवा उपत्यकावासीका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

प्रतिक्रिया