शंखरापुर,काठमाण्डौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत कर लगाउने घोषणा गरेको २४ घण्टाभित्रै आफ्नो निर्णय फिर्ता लिएका छन्। मध्यपूर्वका नेताहरूसँग भएको उच्चस्तरीय परामर्शपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त निर्णय खारेज गरिएको जानकारी दिएका हुन्। यससँगै विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप तनाव सिर्जना हुने आशंका तत्कालका लागि केही कम भएको विश्लेषण गरिएको छ।
ट्रम्पले कर फिर्ता लिएसँगै खाडी मुलुकहरूले अमेरिकामा ठूलो परिमाणमा लगानी गर्ने र त्यसबाट लाखौँ रोजगारी सिर्जना हुने दाबी गरेका छन्। उनले विश्वका लागि अत्यन्त संवेदनशील मानिने होर्मुज स्ट्रेटबाट जहाज गुज्रँदा शुल्क असुल्नु उचित नभए पनि त्यसको सुरक्षा भार अमेरिकाले मात्र वहन गर्नु न्यायोचित नहुने धारणा सार्वजनिक गरेका छन्।
यसअघि अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) ले इरानका बुशहर, चाबहार, जास्क, कोनार्क, अबु मुसा र बन्दर अब्बासलगायतका रणनीतिक सैन्य संरचनामाथि करिब पाँच घण्टासम्म लक्षित हवाई आक्रमण सञ्चालन गरेको जनाएको थियो। अमेरिकी पक्षका अनुसार बन्दर अब्बासस्थित इरानी नौसैनिक अड्डा, पनडुब्बी तथा मर्मत संरचनामा समुद्री ड्रोनमार्फत गरिएको आक्रमणले इरानको नौसैनिक क्षमतामा गम्भीर क्षति पुगेको दाबी गरिएको छ। यद्यपि, इरानले अमेरिकी दाबीबारे विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
अमेरिका–इरान तनाव तीव्र बन्दै गइरहेका बेला रुसको विशेष कमाण्ड विमान Tu-214PU तेहरान पुगेको घटनाले पनि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेको छ। युद्ध वा परमाणु संकटको अवस्थामा राष्ट्रपतिसहित उच्च सैन्य नेतृत्वको कमाण्ड सेन्टरका रूपमा प्रयोग गरिने यो विमान तेहरान अवतरण गर्नु रणनीतिक सन्देशका रूपमा हेरिएको छ।
यता, इरानका पूर्वराष्ट्रपति महमूद अहमदिनेजादसँग सम्बन्धित अर्को विवादले पनि चर्चा पाएको छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सन् २०२४ मा अहमदिनेजाद र इजरायली गुप्तचर संस्था मोसादका प्रमुखबीच गोप्य भेट भएको तथा सर्वोच्च नेता अली खामेनेइको मृत्युको दिन उनलाई सुरक्षित स्थानमा सारिएको दाबी गरेका थिए। तर अहमदिनेजादको कार्यालयले ती सम्पूर्ण दाबीलाई आधारहीन र असत्य भन्दै पूर्ण रूपमा अस्वीकार गरेको छ।
यसैबीच, यमनका हूती विद्रोहीहरूले अल-बैदा क्षेत्रमा सैन्य निगरानी गरिरहेको साउदी अरेबियाको Wing Loong-2 टोही ड्रोन खसालेको दाबी गरेका छन्। घटनाबारे साउदी अरेबियाले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
अमेरिका–इरान तनाव र होर्मुज स्ट्रेट वरिपरिको अस्थिरताले विश्व ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ। वातावरणीय संस्था ग्रीनपिस इन्टरनेसनल ले सार्वजनिक गरेको प्रतिवेदनमा युद्ध अन्त्य भए पनि ऊर्जा बजारको अस्थिरता तत्काल समाप्त नहुने चेतावनी दिइएको छ। प्रतिवेदनले तेल तथा ग्यासमा अत्यधिक निर्भर विश्व अर्थतन्त्रका कारण उत्पन्न महँगीलाई ‘फसिलफ्लेसन’ (Fossilflation) को संज्ञा दिँदै दीर्घकालीन समाधानका लागि सौर्य, वायु तथा अन्य नवीकरणीय ऊर्जामा तीव्र लगानी गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार होर्मुज स्ट्रेट विश्वको सबैभन्दा संवेदनशील समुद्री व्यापारिक मार्गमध्ये एक भएकाले यहाँ उत्पन्न हुने कुनै पनि तनावले कच्चा तेलको मूल्य, विश्वव्यापी आपूर्ति श्रृंखला तथा समग्र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। त्यसैले पछिल्ला घटनाक्रमलाई विश्व शक्ति राष्ट्रहरूले अत्यन्त सावधानीपूर्वक नियालिरहेका छन्।