शंखरापुर, काठमाण्डौं।
शंखरापुर नगरपालिका वडा नं. ७ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको सिपुख्य: चिहानेपाटी संरक्षण तथा सिँढी निर्माण योजना प्रशासनिक अन्योल र प्राविधिक त्रुटिका बीच सफलतापूर्वक सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत विनियोजित बजेटबाट सञ्चालन गरिएको उक्त योजना स्थानीय समुदाय, सरोकारवाला निकाय तथा निर्माण पक्षको सक्रियतामा निर्धारित समयअघि नै सम्पन्न भएको हो।
पर्यटन विकास आयोजना एकाइ कार्यालय, काठमाडौँले प्रारम्भिक सूचना पाटीमा योजनाको स्थान ‘शंखरापुर नगरपालिका–२’ उल्लेख गरेपछि योजना कार्यान्वयन क्षेत्रबारे केही अन्योल सिर्जना भएको थियो। तर पछि योजनाको शीर्षक संशोधन गरी ‘सिपुख्य: चिहानेपाटी, शंखरापुर–७’ कायम गरिएको थियो। स्थानीय स्रोतका अनुसार सरकारी कागजातमा वडा सम्बन्धी प्राविधिक त्रुटि भए पनि योजना सुरुदेखि नै वडा नं. ७ कै ऐतिहासिक स्थलमा कार्यान्वयन गरिएको हो।
प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत विनियोजित रु. १० लाख बजेटबाट सञ्चालन भएको उक्त योजनाका लागि बागमती प्रदेश सभा सदस्य माननीय सुना परियारले विशेष पहल गर्नुभएको बताइएको छ। उहाँको सचिवालयको समन्वयमा योजना स्वीकृत भएको थियो भने स्थानीय स्तरमा गठन गरिएको ‘सिपुख्य: (चिहानेपाटी) संरक्षण तथा सुधार समिति’ ले कार्यान्वयन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। स्थानीय समाजसेवी ओम बहादुर कार्कीले समेत योजना पार्न र सम्पन्न गर्न आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नुभएको बताइएको छ।
निर्माण कार्यका लागि जानकी विल्डर्स एण्ड सप्लायर्स प्रा.लि.सँग भ्याट तथा पी.एस. बाहेक रु. ७ लाख ७० हजार १८१ रुपैयाँ ५ पैसा बराबरको सम्झौता भएको थियो। २०८३ साल जेठ ७ गतेबाट सुरु गरिएको निर्माण कार्य असार १० गतेभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य रहे पनि संरक्षण समिति र निर्माण कम्पनीको संयुक्त सक्रियतामा असारको पहिलो साताभित्रै सिँढी निर्माण तथा चिहानेपाटी संरक्षणको सम्पूर्ण काम सम्पन्न भएको जनाइएको छ।
स्थानीय इतिहास, संस्कृति र धार्मिक आस्थासँग जोडिएको सिपुख्य: चिहानेपाटी संरक्षण योजना सम्पन्न भएसँगै क्षेत्रको पर्यटन प्रवर्द्धन, धार्मिक गतिविधि र सम्पदा संरक्षणमा दीर्घकालीन योगदान पुग्ने विश्वास गरिएको छ।