साँखु,काठमाण्डौं।चिनले अन्तरिक्ष प्रविधिमा आफ्नो प्रभाव तीव्र रूपमा विस्तार गरिरहेका बेला ‘लिजियन’ (Lijian) वाहक रकेटमार्फत एकै पटक पाँचवटा स्याटेलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तर–पश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवाचार परीक्षण क्षेत्रबाट गरिएको उक्त प्रक्षेपणलाई चीनको व्यावसायिक अन्तरिक्ष कार्यक्रमको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
चिनियाँ वैज्ञानिक तथा अन्तरिक्ष क्षेत्रका विश्लेषकहरूका अनुसार यस प्रक्षेपणसँगै ‘लिजियन’ रकेट शृङ्खलाले अन्तरिक्षमा पुर्याएका स्याटेलाइटहरूको संख्या १०० नाघेको छ। यसले चीनको व्यावसायिक अन्तरिक्ष उद्योगले विश्व बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै गएको संकेत गरेको छ।
‘लिजियन’ रकेटलाई Chinese Academy of Sciences अन्तर्गत विकसित गरिएको आधुनिक ठोस इन्धन (Solid Fuel) आधारित रकेटका रूपमा चिनिन्छ। यो रकेट छिटो तयारी, कम लागत र छोटो समयमा प्रक्षेपण गर्न सकिने विशेषताका कारण चर्चामा आएको हो। विशेषगरी साना तथा मध्यम आकारका उपग्रहलाई पृथ्वीको कक्षामा पुर्याउन यसको प्रयोग प्रभावकारी मानिएको छ।
यस पटक प्रक्षेपण गरिएका स्याटेलाइटहरूमध्ये ‘तियान–२७’ (Tian-27) विशेष आकर्षणको केन्द्र बनेको छ। यी उपग्रहहरूमा अत्याधुनिक इन्फ्रारेड रिमोट सेन्सिङ क्यामेरा, स्मार्ट डेटा प्रोसेसिङ प्रणाली तथा अन्तरिक्षमै दृश्य प्रदर्शन गर्न सक्ने डिस्प्ले प्रणाली जडान गरिएको जनाइएको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार केही स्याटेलाइटले अन्तरिक्षबाटै पृथ्वीको प्रत्यक्ष तस्वीर तथा भिडियो पठाउन सक्ने क्षमता राख्छन्।
विश्लेषकहरूका अनुसार चीन अहिले केवल सरकारी अन्तरिक्ष कार्यक्रममा सीमित नरही व्यावसायिक अन्तरिक्ष बजारमा पनि प्रभाव विस्तार गर्ने रणनीतिमा अघि बढिरहेको छ। विशेषगरी कम लागतमा बारम्बार प्रक्षेपण गर्न सक्ने प्रणाली विकासमा चीनले तीव्र लगानी गरिरहेको छ।
यसैबीच चीनले पुनः प्रयोग गर्न सकिने (Reusable) रकेट प्रविधिमा समेत तीव्र अनुसन्धान अघि बढाएको छ। यदि यो प्रविधिमा पूर्ण सफलता प्राप्त भयो भने अमेरिकी निजी अन्तरिक्ष कम्पनी spacex.com� सँगको प्रतिस्पर्धा अझ चर्किने अनुमान गरिएको छ। हाल विश्व अन्तरिक्ष बजारमा पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिमा स्पेसएक्स अग्रणी मानिन्छ।
अन्तरिक्ष क्षेत्रमा अमेरिकापछि दोस्रो ठूलो शक्तिका रूपमा उदाउँदै गएको चीनले पछिल्ला वर्षहरूमा चन्द्र अभियान, अन्तरिक्ष स्टेशन निर्माण, मानवसहितका अन्तरिक्ष यात्रा तथा स्याटेलाइट प्रविधिमा निरन्तर प्रगति गरिरहेको छ। चीनको पछिल्लो ‘लिजियन’ प्रक्षेपणलाई पनि विश्व अन्तरिक्ष दौडमा उसको दीर्घकालीन रणनीतिक फड्कोका रूपमा हेरिएको छ।