आयोगसँग नख्खुका जेलरको बयान : रवि लामिछाने हुलहुज्जत गर्दै जेल तोडेर भागेका हुन् ।

lawanyasandesh.com

साँखु,काठमाडौं — भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनपछि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। ८८९ पृष्ठ लामो उक्त प्रतिवेदनमा आन्दोलनका क्रममा विवादमा तानिएका विभिन्न व्यक्ति तथा सरकारी अधिकारीहरूको बयान समेटिएको छ।
प्रतिवेदनअनुसार ललितपुरस्थित नख्खु कारागारका तत्कालीन जेलर सत्यराम जोशीले आयोगसमक्ष दिएको बयानमा सहकारी ठगी मुद्दामा थुनामा रहेका रवि लामिछाने हुलहुज्जतका बीच कारागारबाट निस्किएको दाबी गरेका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको बयानमा जोशीले भदौ २३ गते बेलुकादेखि कारागारभित्र र बाहिर तनाव बढ्दै गएको उल्लेख गरेका छन्।
उनका अनुसार साँझ करिब ७ बजेतिर कारागार बाहिर ठूलो भीड भेला भई ढुंगामुढा र आगजनी गर्न थालेपछि भित्र रहेका कैदी–थुनुवाले पनि नाराबाजी सुरु गरेका थिए। “रवि लामिछाने बाहिर जान हुने, हामी किन जान नहुने भन्दै कैदीहरू आक्रोशित भए,” जोशीको बयानमा उल्लेख छ। त्यतिबेला जिल्ला प्रहरी कार्यालयमा समेत तोडफोड भइरहेकाले थप सुरक्षाकर्मी परिचालन गर्न नसकिएको उनले बताएका छन्।
जेलर जोशीका अनुसार सो क्रममा रवि लामिछाने कारागारबाट बाहिरिएपछि अन्य कैदी–थुनुवाहरू पनि भाग्न थालेका थिए। बयानमा ६६७ जना कैदी–थुनुवा फरार भएको र तीमध्ये ४०९ जना पुनः सम्पर्कमा आएको उल्लेख गरिएको छ। घटनाबाट करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी पनि गरिएको छ।
कारागारको अपिल र चेतावनी
घटनापछि भदौ २७ गते नख्खु कारागार प्रशासनले फरार कैदीहरूलाई तुरुन्त सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको थियो। सूचनामा फरार अवस्थाको निरन्तरताले कानुनी सजाय कडा हुने र भविष्यमा पाइने सुविधा तथा पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी दिइएको थियो।
कारागार प्रशासनले आत्मसमर्पण गर्ने बन्दीहरूको हकहित संरक्षण गर्दै कानुनी प्रक्रियाअनुसार पुनःस्थापना सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। सोही सूचनामा सहकारी ठगी मुद्दामा थुनामा रहेका रवि लामिछानेसहितका फरार बन्दीलाई पनि तुरुन्त सम्पर्कमा आउन आग्रह गरिएको थियो।
कारागारका एक अधिकारीका अनुसार लामिछाने हुल उतारेर जेल प्रशासनलाई दबाब दिँदै बाहिरिएको र त्यसपछि धेरै कैदी फरार भएका थिए। प्रशासनले आत्मसमर्पण नगरे पक्राउ प्रक्रिया अघि बढाइने जनाएको थियो।
त्यसपछि भदौ २८ गते लामिछाने पुनः नख्खु कारागार फर्किएका थिए। भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै कारागारबाट बाहिरिएको भए पनि अदालतको आदेशबिना परिस्थितिको फाइदा उठाएको भन्दै उनको आलोचना भएको थियो।

प्रतिक्रिया