शंखरापुर(साँखु),काठमाण्डौं। आफूले भोगेको पीडालाई अरू असहाय बालबालिकाको जीवनमा आशा र सहारा बनाउने उद्देश्यले दुई दशकदेखि सामाजिक सेवामा समर्पित द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (CVDS) को सहयोगार्थ शङ्खरापुर नगरपालिका–६, सलम्बुटारमा श्रीमद्भागवत सप्ताह, सत्सङ्ग, ज्ञान महायज्ञ तथा आध्यात्मिक एवं सांस्कृतिक उत्सव आयोजना हुने भएको छ।
मङ्सिर १० गतेदेखि १९ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञबाट ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग सङ्कलन गर्ने लक्ष्य आयोजकले राखेका छन्। संस्थामा आश्रित ५२ जना असहाय तथा विशेष स्वास्थ्य अवस्था भएका बालबालिकाको औषधोपचार, खानपान, आवास र संरक्षणलाई थप व्यवस्थित बनाउने उद्देश्यले धार्मिक अनुष्ठानलाई मानवीय सेवासँग जोडेर महायज्ञ आयोजना गर्न लागिएको हो।
महायज्ञमा चर्चित कथा वाचिका तथा कलाकार बबिता बानियाँ ‘जेरी’ले प्रमुख वाचिकाका रूपमा श्रीमद्भागवत कथा वाचन गर्नुहुनेछ। कार्यक्रममा नेपालका विभिन्न धार्मिक गुरु, सन्तमहात्मा, समाजसेवी, दाता तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कथा वाचनसँगै भजन–कीर्तन, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
धार्मिक आस्थालाई असहाय बालबालिकाको जीवनरक्षासँग जोड्ने अभियान
महायज्ञका मूल संयोजक तथा पिपुल्स लाइफ केयर अस्पतालका अध्यक्ष डा. राजन लुइँटेलले धार्मिक अनुष्ठानबाट प्राप्त हुने सहयोगलाई वास्तविक रूपमा आवश्यक परेका बालबालिकाको जीवनमा पुर्याउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो।
शंखरापुर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै उहाँले शालीनदी, बज्रयोगिनी, मणिचूड तथा आसपासका धार्मिक स्थलहरूको पवित्रतासँग मानवीय सेवाको भावनालाई जोडेर महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिनुभयो।
उहाँका अनुसार महायज्ञका लागि पिपुल्स लाइफ केयर अस्पताल परिसरमा रहेको मैदान तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी लिइएको छ। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा करिब २५ देखि ३० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।
महायज्ञबाट संकलित रकममध्ये कार्यक्रम व्यवस्थापनको खर्च कटाएर बाँकी रहेको सम्पूर्ण रकम द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (CVDS) लाई हस्तान्तरण गरिने डा. लुइँटेलले स्पष्ट पार्नुभयो।
उहाँले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, सामाजिक अभियन्ता, धार्मिक व्यक्तित्व तथा सहयोगी मन भएका सबैलाई शंखरापुरको पुण्यभूमिमा उपस्थित भई बालबालिकाको जीवनरक्षाका लागि सहयोग गर्न आह्वान गर्नुभयो।
मासिक चार लाखभन्दा बढी खर्च, औषधि छुट्नु जीवनकै जोखिम
२०६२ सालमा स्थापना भएको द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपालले स्थापनाकालदेखि नै असहाय, संरक्षणविहीन तथा विशेष स्वास्थ्य अवस्था भएका बालबालिकाको हेरचाह र जीवनरक्षाका लागि काम गर्दै आएको छ। हाल संस्थामा ५२ जना बालबालिका आश्रित रहेको संस्थापक अध्यक्ष युवराज थापा ‘वैरागी’ले जानकारी दिनुभयो।
उहाँका अनुसार बालबालिकाको खानपान, औषधोपचार, आवास तथा दैनिक हेरचाहमा मासिक चार लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। विशेषगरी मस्तिष्क पक्षाघात तथा अन्य जटिल स्वास्थ्य समस्या भएका बालबालिकालाई नियमित औषधि सेवन गराउनुपर्ने भएकाले संस्थाका लागि आर्थिक व्यवस्थापन निरन्तर चुनौतीपूर्ण बन्दै आएको छ।
कतिपय बालबालिकालाई नियमित औषधि सेवन गराउनु जीवनरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै थापाले एक मात्रा औषधि छुट्दा पनि गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने बताउनुभयो।
संस्थाको स्थापनादेखि हालसम्म संरक्षणमा रहेका २६ जना बालबालिकाको निधन भइसकेको जानकारी दिँदै उहाँले विशेष स्वास्थ्य अवस्था भएका बालबालिकाको जीवनरक्षाका लागि निरन्तर उपचार, हेरचाह र आर्थिक स्रोत आवश्यक रहेको बताउनुभयो।
नेपाल प्रहरी तथा सम्बन्धित सरकारी निकायको सिफारिसमा बालबालिकालाई संस्थामा ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो। कतिपय बालबालिका अभिभावकविहीन छन् भने कतिपय अत्यन्तै गरिब पारिवारिक अवस्थाका कारण उचित हेरचाह र उपचारबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेका छन्।
संस्थाले बालबालिकालाई आवास र खाना उपलब्ध गराउने मात्र नभई नियमित औषधोपचार, सरसफाइ, पोषण तथा आवश्यक हेरचाहलाई प्राथमिकतामा राख्दै आएको छ।
आफूले भोगेको पीडालाई सेवामा रूपान्तरण गर्ने युवराज थापाको सङ्घर्ष
संस्थापक अध्यक्ष युवराज थापा ‘वैरागी’को जीवनयात्रा आफैँमा सङ्घर्ष, आत्मविश्वास र मानवीय सेवाको प्रेरणादायी उदाहरण बनेको छ।
भोजपुरमा कक्षा ९ मा अध्ययनरत रहँदा १४ वर्षको उमेरमा शारीरिक समस्याका कारण उहाँका दुवै खुट्टाले काम गर्न छाडेका थिए। त्यसपछि पाँच वर्षसम्म आफ्नै घरमा ओछ्यानमा सीमित भएर बस्नुपरेको कठिन समय पार गर्दै उहाँले पुनः अध्ययनलाई निरन्तरता दिनुभयो।
ह्विलचियरको सहायताबाट जीवन अगाडि बढाउँदै एसएलसी उत्तीर्ण गर्नुभएका थापाले पछि काठमाडौँ आएर उपचार गराउनुभयो। शारीरिक कठिनाइका बाबजुद बैसाखीको सहायताबाट उच्च शिक्षा हासिल गर्दै स्नातक तहसम्मको अध्ययन गर्नुभयो।
आफ्नै जीवनमा भोगेको पीडाले अरू असहाय बालबालिकाको अवस्थाबारे सोच्न प्रेरित गरेपछि उहाँले सामाजिक सेवामा समर्पित हुने निर्णय गर्नुभएको हो।
पशुपति क्षेत्रमा असहाय तथा सडकमा जीवन बिताइरहेका व्यक्तिहरूलाई देखेपछि उनीहरूको पीडाले आफूलाई गहिरो प्रभाव पारेको उहाँको भनाइ छ। सामान्य आम्दानीबाट समेत सहयोग गर्दै आउनुभएका थापाले अन्ततः २०६२ सालमा संस्था स्थापना गरी असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने अभियान सुरु गर्नुभयो।
‘मैले आफ्नो जीवनमा धेरै दुःख भोगेँ। तर मभन्दा धेरै पीडित बालबालिका पनि छन् भन्ने सोच आयो। जागिर खाएर आफ्नो जीवन मात्र चलाउनुभन्दा ती बालबालिकाको जीवनमा केही परिवर्तन ल्याउनुपर्छ भन्ने उद्देश्यले संस्था सुरु गरेको हुँ,’ उहाँले आफ्नो सङ्घर्षपूर्ण अनुभव सुनाउनुभयो।
संस्था स्थापना र सञ्चालनका क्रममा सरकारी निकायबाट अपेक्षित सहयोग तथा सहजीकरण नपाएको अनुभव सुनाउँदै उहाँले सीमित स्रोतसाधनका बाबजुद आफ्नो आत्मविश्वास र सकारात्मक सोचका आधारमा संस्थालाई निरन्तरता दिँदै आएको बताउनुभयो।
उहाँका अनुसार राष्ट्रिय बाल अधिकार परिषद् (साबिक केन्द्रीय बालकल्याण समिति) बाट विगतमा वार्षिक सात लाख ५६ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो। चालु आर्थिक वर्षमा समेत पहिलो किस्ता निकासा भएको उहाँले जानकारी दिनुभयो।
थापाले समाजका दाताहरूलाई सहयोगको आकारभन्दा सहयोग गर्ने भावनालाई महत्त्व दिन आग्रह गर्नुभयो। ‘धेरैले थोरै–थोरै सहयोग गर्यौँ भने पनि त्यो ठूलो सहयोग बन्न सक्छ। कसैले यति नै दिनुपर्छ भन्ने छैन। आफ्नो क्षमताअनुसार सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो।
बबिता बानियाँ ‘जेरी’ : धार्मिक कार्यक्रमसँगै मानवीय सेवाको जिम्मेवारी
महायज्ञकी प्रमुख वाचिका बबिता बानियाँ ‘जेरी’ले यसपटकको कार्यक्रमलाई आफूले सामान्य धार्मिक अनुष्ठानका रूपमा मात्र नभई असहाय बालबालिकाको जीवनमा परिवर्तन ल्याउने सामाजिक जिम्मेवारीका रूपमा लिएको बताउनुभयो।
बालबालिकाको दैनिक औषधोपचार, खानपान तथा आवासमा देखिने समस्याले आफूलाई भावनात्मक रूपमा छोएको उल्लेख गर्दै उहाँले महायज्ञलाई सफल बनाएर उनीहरूको जीवनमा केही राहत पुर्याउने आफ्नो चाहना रहेको बताउनुभयो।
‘कसैलाई दैनिक औषधि खानुपर्ने अवस्था छ, कसैलाई खानाको समस्या छ, कसैलाई बसोबासको समस्या छ। उनीहरूको जीवनमा केही भए पनि मलम लगाउन सकियोस् भन्ने भावनाले मैले यस कार्यक्रमलाई विशेष जिम्मेवारीका साथ लिएकी छु,’ उहाँले भन्नुभयो।
उहाँले ‘सबै जुटौँ, कोही पनि नछुटौँ’ भन्ने अभियानका साथ सबैलाई सहयोगका लागि आग्रह गर्नुभयो।
आफ्नो अनावश्यक खर्च कटौती गरेर भए पनि वास्तविक पीडामा रहेका बालबालिकाका लागि सहयोग गर्न सकिने उल्लेख गर्दै उहाँले आर्थिक सहयोग गर्न नसक्नेहरूले कार्यक्रममा उपस्थित भएर साथ र हौसला प्रदान गर्नसमेत आग्रह गर्नुभयो।
महायज्ञमा श्रीमद्भागवतका धार्मिक तथा आध्यात्मिक कथाहरूको श्रवणसँगै भजन–कीर्तन र सांस्कृतिक कार्यक्रमसमेत रहने उहाँले जानकारी दिनुभयो।
हरि महतको संयोजनमा धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता
महायज्ञका कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराका सदस्य धार्मिक तथा सामाजिक अभियन्ता हरि महतले विभिन्न धार्मिक, सामाजिक तथा मानवीय क्षेत्रका व्यक्तित्वहरूको सहयोग र सहभागिताले कार्यक्रमलाई ऐतिहासिक बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार चर्चित वाचिका बबिता बानियाँ ‘जेरी’सहित नेपालका विभिन्न चर्चित गुरु महाराज, समाजसेवी तथा दाताहरूको सहभागिता रहनेछ।
समाजमा आर्थिक रूपमा सक्षम व्यक्तिहरूले आफ्नो सानो सहयोगबाट समेत असहाय बालबालिकाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै उहाँले सबैलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गर्नुभयो।
‘हामीले कमाएको सम्पत्ति यहीँ छोडेर जानुपर्छ। अरूको दुःखमा सहयोग गर्नु नै वास्तविक पुण्य हो। त्यसैले यो अभियानमा सबैले हातेमालो गरौँ,’ उहाँले भन्नुभयो।
महायज्ञको व्यवस्थापन समितिको संयोजकका रूपमा ममता महतले जिम्मेवारी सम्हाल्नुभएको छ। मञ्च, स्टेज, ध्वनि प्रणाली तथा अन्य आवश्यक व्यवस्थापकीय तयारीलाई व्यवस्थित बनाउने काम भइरहेको आयोजकले जनाएको छ।
आर्थिक पारदर्शिता र सार्वजनिक लेखापरीक्षण गर्ने प्रतिबद्धता
सार्वजनिक सहयोगबाट सञ्चालन हुने महायज्ञको आर्थिक पारदर्शितालाई आयोजकले विशेष महत्त्व दिएको बताएका छन्।
महायज्ञबाट ५० लाख रुपैयाँभन्दा बढी सहयोग सङ्कलन गर्ने लक्ष्य राखिएको र व्यवस्थापनमा करिब २५ देखि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अवस्थामा आम्दानी तथा खर्चको विवरण पारदर्शी बनाउने प्रतिबद्धता आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रम सम्पन्न भएपछि प्राप्त सहयोग, व्यवस्थापन खर्च र बाँकी रकमको विवरण पत्रकारहरूमार्फत सार्वजनिक गर्ने तथा सार्वजनिक लेखापरीक्षणलगायत पारदर्शितासम्बन्धी प्रक्रिया अन्तिम रूप दिने आयोजकको भनाइ छ।
व्यवस्थापन खर्च कटाएर बाँकी रहेको सम्पूर्ण रकम द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (CVDS) लाई सहयोग गरिने र उक्त रकम बालबालिकाको संरक्षण, औषधोपचार तथा जीवनयापनमा खर्च गरिने जनाइएको छ।
यस व्यवस्थाले दाताहरूको सहयोगको सदुपयोग सुनिश्चित गर्न तथा सामाजिक सेवामा सार्वजनिक विश्वास कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
धार्मिक आस्थालाई सेवामा रूपान्तरण गर्ने अवसर
महायज्ञलाई केवल धार्मिक आस्थाको अभिव्यक्तिका रूपमा मात्र नभई समाजका कमजोर, असहाय र संरक्षणविहीन बालबालिकाप्रतिको सामूहिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा हेरिएको छ।
विशेषगरी शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका बालबालिकालाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार भएका नागरिकका रूपमा स्वीकार गर्दै उनीहरूको जीवनलाई सहज बनाउनु सबैको साझा दायित्व हो।
धार्मिक अनुष्ठानमा सहभागी हुने श्रद्धालुहरूले आफ्नो क्षमताअनुसार सहयोग गर्दा बालबालिकाको नियमित औषधोपचार, पोषण, आवास तथा संरक्षणमा प्रत्यक्ष योगदान पुग्ने आयोजकको विश्वास छ।
महायज्ञमा सहभागी भई कथा श्रवण, धार्मिक अनुष्ठान तथा आर्थिक सहयोगमार्फत मानवीय सेवाको अभियानमा जोडिन आयोजकले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली तथा श्रद्धालुहरूलाई आह्वान गरेका छन्।
महायज्ञसम्बन्धी जानकारी तथा सम्पर्क
• कार्यक्रम: श्रीमद्भागवत सप्ताह, सत्सङ्ग, ज्ञान महायज्ञ तथा आध्यात्मिक एवं सांस्कृतिक उत्सव
• मिति: मङ्सिर १० गतेदेखि १९ गतेसम्म
• स्थान: शंखरापुर नगरपालिका–६, शलम्बुटार, काठमाडौँ
• प्रमुख वाचिका: बबिता बानियाँ ‘जेरी’
• सहयोगार्थ संस्था: द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (CVDS)
• आर्थिक सङ्कलनको लक्ष्य: ५० लाख रुपैयाँभन्दा बढी
सचिवालय सम्पर्क नम्बर:
९८५१४०३४८६
९८६१०६०३७६
अन्ततः यस महायज्ञको सफलता धार्मिक अनुष्ठानमा सहभागी हुने श्रद्धालुको सङ्ख्याले मात्र होइन, संरक्षणको पर्खाइमा रहेका ५२ जना बालबालिकाको जीवनमा पुग्ने सहयोगले मापन हुनेछ। समाजका प्रत्येक सहयोगी हात र संवेदनशील मनको सानो योगदानले पनि उनीहरूको जीवनमा ठूलो आशा जगाउन सक्छ। धार्मिक आस्थालाई मानवीय सेवामा रूपान्तरण गर्ने यस अभियानमा सबैको सहभागिता अपेक्षित छ।