शंखरापुर (साँखु), काठमाण्डौं।
शंखरापुर नगरपालिका वडा नं. ६ स्थित सलम्बुदेवी क्षेत्रमा रहेको बाँसको झ्याङमा भेटिएको चितुवालाई जिल्ला वन कार्यालय काठमाडौं, सब डिभिजन वन कार्यालय साँखु शाखा तथा प्रहरी प्रभाग साँखुका प्रहरीहरूको संयुक्त प्रयासमा जीवितै नियन्त्रणमा लिएर उद्धार गरिएको छ।
आज मङ्सिर ३ गते बिहान सलम्बुदेवी क्षेत्रको बाँसको झ्याङमा चितुवा भेटिएको जानकारी प्राप्त भएपछि जिल्ला वन कार्यालय काठमाडौं, सब डिभिजन वन कार्यालय साँखु शाखा र प्रहरी प्रभाग साँखुका प्रहरीहरू उद्धार कार्यमा परिचालित भएका थिए। संयुक्त टोलीले आवश्यक सावधानी अपनाउँदै चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको हो।
उद्धार गरिएको चितुवालाई बिहान ११ बजे जिल्ला वन कार्यालय काठमाडौं पुर्याइएको छ। चितुवाको आगामी व्यवस्थापनका सम्बन्धमा सम्बन्धित निकायबीच छलफल गरी उचित निर्णय लिइने जनाइएको छ।
चितुवालाई सदर चिडियाखानामा राखेर संरक्षण तथा पालनपोषण गर्ने वा उपयुक्त र सुरक्षित प्राकृतिक बासस्थानमा स्थानान्तरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ। चितुवाको अवस्था, सुरक्षा र वन्यजन्तु संरक्षणका मापदण्डलाई ध्यानमा राखेर निर्णय लिइने अपेक्षा गरिएको छ।
बस्ती नजिकै चितुवा भेटिएपछि स्थानीयवासीमा त्रास र चासो बढेको थियो। जिल्ला वन कार्यालय, सब डिभिजन वन कार्यालय साँखु शाखा र प्रहरी प्रभाग साँखुको सक्रियतामा चितुवालाई जीवितै उद्धार गरिनुले सम्भावित जोखिम न्यूनीकरण हुनुका साथै वन्यजन्तु संरक्षणप्रतिको जिम्मेवारीसमेत उजागर गरेको छ।
पछिल्लो समय मानव बस्ती आसपास वन्यजन्तु देखिने घटनाले मानव–वन्यजन्तु सहअस्तित्व र सुरक्षाको विषयलाई पुनः चर्चामा ल्याएको छ। वन्यजन्तु देखिएमा स्थानीयवासी आफैँ नियन्त्रणमा लिने वा लखेट्ने प्रयास नगरी तत्काल प्रहरी तथा वन कार्यालयलाई जानकारी गराउन आवश्यक छ।
चितुवाको अन्तिम व्यवस्थापनबारे सम्बन्धित निकायबाट हुने निर्णयपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।