साँखु काठमाण्डौं
साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी मुहान संरक्षण तथा दीर्घकालीन पानी व्यवस्थापनको विषयलाई प्रमुख प्राथमिकतामा राख्दै शंखरापुर नगरपालिकामा डेलिगेसन जाने तयारी गरेको छ। मुहान संरक्षणसँग सम्बन्धित पछिल्ला विषयहरूलाई लिएर नगरपालिकाको ध्यानाकर्षण गराउने उद्देश्यसहित समितिले सम्पूर्ण उपभोक्तालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो।
समितिद्वारा जारी सूचनाअनुसार २०८३ जेठ १ गते शुक्रबार बिहान ११ बजे शंखरापुर नगरपालिका कार्यालयमा डेलिगेसन कार्यक्रम तय गरिएको छ। समितिले खानेपानीका मूल स्रोतहरूको संरक्षण, भावी पुस्ताका लागि पानीको दिगो उपलब्धता तथा स्थानीय उपभोक्ताको साझा अधिकारको विषयलाई केन्द्रमा राखेर नगरपालिका समक्ष आफ्नो धारणा र माग प्रस्तुत गर्ने जनाएको छ।
साँखु क्षेत्रको खानेपानी आपूर्तिसँग प्रत्यक्ष सम्बन्धित मुहानहरू संरक्षणको अभाव, अतिक्रमण तथा विभिन्न चुनौतीसँग जुधिरहेको अवस्थामा समितिले यस विषयलाई गम्भीर रूपमा उठाएको देखिएको छ। स्थानीयवासीले पनि स्वच्छ र नियमित खानेपानीको पहुँच सुनिश्चित गर्न मुहान संरक्षणलाई अत्यन्त संवेदनशील विषयका रूपमा लिँदै आएका छन्।
कार्यक्रम अन्तर्गत समितिले नगरपालिकालाई खानेपानी मुहानको संरक्षण, व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्ने तयारी गरेको बुझिएको छ।
समितिले जारी सूचनामा सम्पूर्ण उपभोक्तालाई साझा स्रोत र अधिकारको संरक्षणका लागि एकजुट हुन अपिल गर्दै उल्लेख गरेको छ—
"सहभागी बनौँ ! सहभागी बनौँ !! सहभागी बनौँ !!!"
समितिले आफ्नो हक, अधिकार र खानेपानीको स्रोत संरक्षणका लागि निर्धारित मिति र समयमा उपस्थित भई कार्यक्रममा ऐक्यबद्धता जनाउन सम्पूर्ण उपभोक्तासँग हार्दिक अनुरोध गरेको छ।
स्थानीय स्तरमा खानेपानीको दिगो व्यवस्थापन र प्राकृतिक स्रोतको संरक्षणसँग जोडिएको यस विषयलाई अहिले साँखु क्षेत्रका नागरिकहरूले विशेष चासोका साथ हेरेका छन्।
14 May 2026