शंखरापुर,काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई मुलुकको बदलिँदो राजनीतिक, सामाजिक तथा आर्थिक परिस्थितिको गम्भीर समीक्षा गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। उनले लोकतन्त्र र विविधताको संरक्षणसँगै अब नागरिकलाई प्रत्यक्ष परिणाम अर्थात् ‘डेलिभरी’ र सम्मान तथा मर्यादा अर्थात् ‘डिग्निटी’ दिन सक्ने राजनीतिक दलका रूपमा कांग्रेसलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
महाधिवेशनलाई सम्बोधन गर्दै थापाले विगतका राजनीतिक उपलब्धिको रक्षा गर्दै अब नागरिकका दैनन्दिन समस्या समाधान गर्ने दिशामा पार्टीको ध्यान केन्द्रित हुनुपर्ने बताए। उनका अनुसार संविधानले लोकतन्त्र र विविधतालाई संस्थागत गरे पनि नागरिकको जीवनमा त्यसको प्रतिफल अनुभूति हुने गरी राज्य सञ्चालन गर्न नसकिए राजनीतिक उपलब्धिप्रतिको भरोसा कमजोर हुन सक्छ।
३५ वर्षको राजनीतिक यात्रामाथि आत्मसमीक्षा
मञ्चमा उपस्थित पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईतर्फ संकेत गर्दै थापाले पछिल्ला करिब ३५ वर्षको राजनीतिक यात्रालाई स्मरण गरे। सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माणलगायतका महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल भए पनि गाउँघर रित्तिँदै गएको, युवाशक्ति रोजगारीका लागि विदेशिन बाध्य भएको तथा मुलुकमा उत्पादन र उद्योगको अपेक्षित विस्तार हुन नसकेकोप्रति उनले प्रश्न उठाए।
नेपाल दुई ठूला छिमेकी मुलुक चीन र भारतको विशाल बजारको बीचमा रहे पनि त्यसबाट पर्याप्त आर्थिक लाभ लिन नसक्नुका कारण खोज्नुपर्ने उनको भनाइ थियो।
“नेपालको छिमेकमै चीन र भारतजस्ता ठूला बजार हुँदाहुँदै पनि हामीले उद्योग–कलकारखाना किन चलाउन सकेनौँ ? यी प्रश्नहरूको उत्तर अब हामीले सँगै बसेर खोज्नुपर्छ,” थापाले भने।
‘डेमोक्रेसी र डाइभर्सिटी’बाट ‘डेलिभरी र डिग्निटी’तर्फ
थापाले नेपाली कांग्रेसले लोकतन्त्र र विविधताको रक्षा गर्ने आफ्नो ऐतिहासिक जिम्मेवारीलाई निरन्तरता दिँदै नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने नयाँ राजनीतिक कार्यदिशा तय गर्नुपर्ने बताए।
उनका अनुसार कांग्रेस अब लोकतन्त्र र डेलिभरीबीचको पुल, स्वतन्त्रता र समृद्धिबीचको पुल, पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीचको पुल तथा इतिहास र सम्भावित सुनौलो भविष्यबीचको पुल बन्न सक्नुपर्छ।
नागरिकको भरोसा सामाजिक सञ्जालमा प्राप्त हुने ‘लाइक’ वा नेताको लोकप्रियतासँग मात्र जोडिन नहुने उल्लेख गर्दै उनले वास्तविक विश्वास नागरिकले आफ्नो भविष्यप्रति गर्ने भरोसा भएको बताए।
“विश्वास भनेको कुनै नेताले बेलुका सामाजिक सञ्जालमा पाउने ‘लाइक’ होइन। विश्वास त नागरिकले बेलुका आँखा चिम्लेर सुत्दा ‘भोलिको नेपाल आजको भन्दा राम्रो हुन्छ’ भन्ने भरोसा हो,” उनले भने।
नागरिकका प्रश्नको उत्तर दिनुपर्ने समय
सम्बोधनका क्रममा थापाले युवादेखि किसान, उद्यमी, वैदेशिक रोजगारीमा रहेका श्रमिक, महिला तथा सीमान्तकृत समुदायसम्मका नागरिकले भोगिरहेका समस्यालाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए।
युवाले गुणस्तरीय शिक्षा र योग्यताका आधारमा रोजगारी खोजिरहेका छन्। वैदेशिक रोजगारीमा रहेका नागरिकले विदेशमा पसिना बगाएर पठाएको रकम परिवारको शिक्षा तथा स्वास्थ्य उपचारमै सकिने अवस्था अन्त्य गर्नुपर्ने माग गरिरहेका छन्। किसानले उत्पादनको उचित मूल्य, सुकुम्बासीले सुरक्षित आवास र उद्यमीले राज्यको अनावश्यक हस्तक्षेपबाट मुक्त व्यावसायिक वातावरण खोजिरहेको उनले बताए।
त्यस्तै, महिला तथा सीमान्तकृत समुदायले संविधानले प्रदान गरेका अधिकारको वास्तविक अनुभूति र सुरक्षित जीवनको प्रत्याभूति खोजिरहेको उनको भनाइ थियो।
‘कुर्सीको म्युजिकल चेयरमा व्यस्त भयौँ’
राजनीतिक दलहरू विगतमा सत्ताकेन्द्रित भएको स्वीकार गर्दै थापाले नागरिकका आकांक्षा सम्बोधन गर्न नसकेकोप्रति आत्मसमीक्षा आवश्यक रहेको बताए।
“हामी प्रधानमन्त्रीको कुर्सीका लागि दौडिरह्यौँ, कुर्सीकै लागि मिल्ने र भोलिपल्टै झगडा गर्ने म्युजिकल चेयरमा व्यस्त भयौँ। नागरिकका जायज आकांक्षा पूरा गर्न हामी चुक्यौँ। यो सत्यलाई हामीले स्वीकार्नुपर्छ,” उनले भने।
उनले विगतका कमजोरी स्वीकार नगरी नयाँ राजनीतिक विश्वास निर्माण गर्न नसकिने बताए।
भाद्र २३ र २४ का घटनाबाट पाठ सिक्नुपर्ने
भाद्र २३ र २४ गतेका घटनाक्रमलाई स्मरण गर्दै थापाले राज्यको दमन र आपराधिक गतिविधि दुवै गलत भएको बताए। तर, त्यस्ता घटनाभित्र अभिव्यक्त भएको जनअसन्तुष्टि, उकुसमुकुस र परिवर्तनको चाहनालाई पनि बेवास्ता गर्न नहुने उनको भनाइ थियो।
उनले नागरिकमा बढ्दै गएको निराशालाई केवल राजनीतिक विरोधका रूपमा बुझ्नुको सट्टा त्यसको कारण पहिचान गरी समाधान खोज्नुपर्ने बताए।
विश्व परिस्थिति र प्रविधिको चुनौती
थापाले नेपालको वर्तमान समस्या केवल आन्तरिक राजनीतिक कारणबाट सिर्जित नभएको उल्लेख गर्दै विश्व राजनीतिमा भइरहेको परिवर्तनले समेत मुलुकको अर्थतन्त्र र समाजमा प्रभाव पारिरहेको बताए।
रुस–युक्रेन युद्ध, मध्यपूर्वको तनाव, विश्व अर्थतन्त्रमा देखिएको परिवर्तन तथा जलवायु परिवर्तनका असरले नेपालजस्ता मुलुकलाई समेत प्रभावित गरिरहेको उनको विश्लेषण थियो।
त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र अटोमेसनले आगामी वर्षहरूमा रोजगारी, श्रम बजार र अर्थतन्त्रमा पार्ने प्रभावबारे अहिलेदेखि नै गम्भीर बहस आवश्यक रहेको उनले बताए।
संसदीय जुहारी होइन, परिणाममुखी राजनीति आवश्यक
थापाले संसदमा हुने आरोप–प्रत्यारोप र हल्का राजनीतिक टिप्पणीले मात्र मुलुकका जटिल समस्या समाधान नहुने बताए। नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने नीति, कार्यक्रम र कार्यान्वयनमा राजनीतिक दल केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
१५औँ महाधिवेशनबाट नेपाली कांग्रेसले आफूलाई समयानुकूल परिमार्जन गर्दै उत्तरदायी, दूरदर्शी र परिणाममुखी लोकतान्त्रिक शक्तिका रूपमा पुनःस्थापित गर्नुपर्नेमा उनले जोड दिए।
उनले महाधिवेशन प्रतिनिधि तथा पार्टी नेतृत्वलाई विगतको गौरवमा मात्र सीमित नरही बदलिँदो पुस्ता, प्रविधि, अर्थतन्त्र र नागरिकका नयाँ अपेक्षालाई सम्बोधन गर्ने कांग्रेस निर्माणमा जुट्न आह्वान गरे।
लोकतन्त्रको रक्षा कांग्रेसको ऐतिहासिक दायित्व भए पनि अब त्यसको सार नागरिकको जीवनमा देखिने परिवर्तन हुनुपर्ने थापाको निष्कर्ष थियो।