जेसीज सप्ताह–२०२६ अन्तर्गत साँखुमा खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न।

lawanyasandesh.com

शंखरापुर, काठमाडौँ । साँखु जेसीजको आयोजनामा सञ्चालन भइरहेको ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत शनिबार खुल्ला टेबल टेनिस प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। शंखरापुर–७, साँखुस्थित भक्ति ब्याम्बो पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा स्थानीय युवा तथा विद्यार्थी खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

परम्परागत औपचारिक कार्यक्रमभन्दा फरक शैली अपनाउँदै यस प्रतियोगितामा कुनै प्रमुख अतिथि वा सभापति राखिएको थिएन। खेल र खेलाडीलाई नै केन्द्रमा राखेर प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई साँखु जेसीज वर्ष–२०२६ का अध्यक्ष जेसी आशीष श्रेष्ठ (पुखुसी), मूल संयोजक जेसी रोनन सिंह तथा कार्यक्रम संयोजक जेसी मनिष गोपाल कारंजितले नेतृत्व गर्नुभएको थियो। कार्यक्रममा जेसीजका पूर्वअध्यक्षहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा कुल ५४ जना खेलाडी सहभागी भएका थिए, जसमध्ये ४ जना महिला खेलाडी रहेका थिए। स्थानीय सात प्रतिष्ठित विद्यालय—भाग्योदय माध्यमिक विद्यालय, एभरग्रीन इङ्लिस सेकेन्डरी स्कुल, ब्रह्मकुञ्ज शिक्षा सदन, सेरेनहिल इङ्लिस स्कुल, श्री भगवती माध्यमिक विद्यालय, श्री राष्ट्रिय माध्यमिक विद्यालय तथा शान्दिपनी ज्ञानमन्दिर पब्लिक स्कुलका विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

प्रतिस्पर्धात्मक खेलमा पुरुषतर्फ सागर लामा प्रथम, बिशाल लामा द्वितीय तथा प्रबिन परियार तृतीय भए। महिलातर्फ हिमानी तामाङ प्रथम, प्रतीक्षा नापित द्वितीय र धिमा कुमारी पाध्याय तृतीय हुन सफल भए।

प्रतियोगितामा सहभागी सबै खेलाडीलाई प्रोत्साहनस्वरूप चाउचाउ उपहार प्रदान गरिएको थियो। विजेता खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र भने आगामी साउन १६ गते शनिबार समरा गार्डेनमा आयोजना हुने जेसीज सप्ताह–२०२६ को समापन समारोहमा प्रदान गरिने अध्यक्ष जेसी आशीष श्रेष्ठले जानकारी दिनुभयो।

प्रतियोगिताको संयोजन तथा मुख्य रेफ्रीको जिम्मेवारी निर्वाह गर्नुभएका पूर्व खेलाडी एवं भाग्योदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन कुमार नापितले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्तीका साथै मानसिक स्फूर्ति बढाउने उल्लेख गर्दै खेलकुदलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। आवश्यक परे आफू जीवनभर यस्ता कार्यक्रमलाई सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो।

महिला विधामा द्वितीय स्थान हासिल गरेकी प्रतीक्षा नापितले खेलले मनमस्तिष्कलाई ताजा बनाउने र प्रतियोगितामा सहभागी हुन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताउनुभयो।

साँखु जेसीजका पूर्वअध्यक्ष जेसी सुजन श्रेष्ठले संस्थाले स्थापनाकालदेखि नै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सामाजिक उत्थानका विविध कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।

आजको कार्यक्रम सफल भएकोमा खुशी हुदै  मूल संयोजक जेसी रोनन सिंहले जेसीज सप्ताहअन्तर्गतका सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक अघि बढिरहेकोमा सहयोगी हातहरुलाई धन्यवाद दिए।

कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन गर्दै बर्ष २०२६ का अध्यक्ष जेसि आशिष श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्नुभयो। साथै आगामी साउन १६ गते आयोजना हुने जेसीजको विशेष कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा स्थानीयवासीलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभयो।

प्रतिक्रिया